INSEC Online

📅 २०८३ जेष्ठ २१

डाक्टरको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको पीडित पक्षको आरोप, पाँच सदस्यीय छानविन समिति गठन

गोदावरी नगरपालिका अन्तर्गत पर्ने मालाखेती अस्पतालमा सुत्केरी व्यथा लागेर चैत २६ गते उपचारका लागि आउनु भएकी गोदावरी नगरपालिका–२ की २८ वर्षीया लक्ष्मी भट्टराईको डाक्टर र अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै पीडित पक्षले आन्दोलन गरेपछि घटनाको छानविन गर्न चैत २९ गते पाँच सदस्यीय समिति गठन गरिएको छ ।

डाक्टरको लापरवाहीका कारण सुत्केरी र बच्चाको मृत्यु हुन गएको भन्दै पीडित पक्ष तथा परिवारले तीन दीनसम्म आन्दोलन गरेपछि छानविन समिति गठन गरिएको हो ।

सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिशचन्द्र विष्टको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी, डाक्टर ओमप्रकाश जोशी, स्ताफ नर्स प्रमुख सृष्टी  जोशी र पीडित पक्षबाट विष्णु पाठक सदस्य रहेको पाँच सदस्यीय छनविन समिति गठन गरिएको छ ।

घटना भएको तीन दिनसम्म पनि सुत्केरी र बच्चाको शव पीडित पक्षले उठाउन नमानेपछि पीडित पक्षसँग छलफल गर्न र घटनाको सत्यतथ्य छानविन गर्न नगरपालिकाको पत्राचारको आधारमा पाँच सदस्यीय छनविन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताउनु भयो ।

छानविन समितिले दुबै पक्षबीच छलफल गर्दा मृतकको छोरालाई आवासीय उच्च शिक्षासम्म  पढाउने र परिवारलाई ५ लाख रुपियाँ दिने सहमती अनुसार चैत २९ गते शवको सेती प्रदेशिक अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाउने कार्य भएको गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले बताउनु भयो ।

पीडित पक्षलाई उचित न्याय हुने छानविन समितिको प्रतिवद्धता अनुसार चैत २९ गते शव बुझेर गोदावरी घाटमा चैत ३० गते सदगत गरिएको मृतका आफन्त विष्णु पाठकले बताउनु भयो ।

सुत्केरी व्यथा लागेर उपचारका लागि चैत २६ गते अस्पतालमा ल्याइएकी महिलाको अस्पताल र डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै दोषीलाई कार्वाही र पीडितलाई उचित क्षतिपुर्तिको माग राख्दै पीडित पक्षले तीन दिनसम्म आन्दोलन गरेका थिए ।

अन्य

भिडियो