INSEC Online

📅 २०८३ जेष्ठ २१

राजपाद्वारा दोश्रो चरणको स्थानीय तह चुनावको विरोधमा मसाल जुलुस प्रदर्शन

संविधान संशोधनको माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा कार्यकर्ताहरूले तराई/मधेसका महोत्तरी, धनुषा र सर्लाहीलगायतका जिल्लाहरूमा जेठ २९ गते साँझ मसाल जुलुस प्रदर्शन गरेको इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँले जनाएको छ ।

राजपा नेपालका नेताहरूले संविधान संशोधन गरी आफूहरूको माग सम्बोधन नगरिएसम्म दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन नदिने भन्दै जेठ २८ गते निर्वाचनलाई बिथोल्ने गरी विरोधका कार्यक्रम घोषणा गरेका थिए ।

सोही कार्यक्रम अनुसार तराई मधेसका जिल्लाहरूमा राजपाका नेता तथा कार्यकर्ताहरूले जेठ २९ गते साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले महोत्तरीमा जेठ २९ गते मसाल जुलुस प्रदर्शन गरेको छ ।

सदरमुकाम जलेश्वर स्थित राजपाको पार्टी कार्यालयबाट सुरू भएको मसाल जुलुस जलेश्वर नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

जुलुसमा सहभागी राजपाका नेता तथा कार्यकर्ताहरूले असार १४ गते तोकिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्थगित गर्नु पर्ने, परिमार्जन सहितको संविधान संशोधन गर्नुपर्ने, आन्दोलनको क्रममा राजपाको नेता कार्यकर्ताहरू माथि लगाइएको झुठा मुद्दा फिर्ता गर्नु पर्ने र जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुने गरी स्थानीय तहको सिमाना निर्धारण गर्न माग गरेका थिए ।

राजपाका नेता सुरेस सिंहले आफ्ना मागको उचित्त सम्बोधन नगरी जबरजस्ती निर्वाचन गराउन खोजे मुठभेडको स्थिति आउने र यसको जिम्मेवारी नेपाल सरकारले लिनु पर्ने चेतावनी दिए ।

धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासका अनुसार राजापाले जेठ २९ गते जनकपुरमा मसाल जुलुस प्रदर्शन गरेको छ । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन अगावै संविधान संशोधन गरिए मात्र निर्वाचनमा भाग लिने भन्दै राजापाले आन्दोलन गर्दै आएको छ ।

सरकारले घोषणा गरेको निर्वाचनलाई बहिष्कार गर्न र निर्वाचन बिथोल्नको लागि राजापाले जेठ ३० गतेदेखि असार २ गतेसम्म धनुषा बन्दको आह्वान गरेको छ । बन्द सफल बनाउन जनकपुरको क्याम्पस चोकबाट निकालेको मसाल जुलुस क्याम्पस चोक, मुर्ली चोक, राम चोक हुदै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

राजापाका धनुषा जिल्ला संयोजक परमेश्वर साहले संविधान संशोधन बिना कुनै पनि हालतमा मधेसी जनता निर्वाचनमा भाग नलिने बताए । आउँदो असार १४ गतेको चुनावमा भाग लिन असार २ गते उम्मेदवारी दर्ताको मिति तय भएकोले असार २ गतेको सो कार्यक्रम बिथोल्न राजापाले चार दिन बन्दको आह्वान गरेको हो ।

सर्लाही जिल्ला प्रतिनिधि सन्तोषकुमार सिंहका अनुसार स्थानीय तहको निर्वाचन बहिष्कार गर्दै आन्दोलन घोषणा गरेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताहरूले जेठ २९ गते साँझ सर्लाही सदरमुकाम मलङ्गवा सहित अन्य व्यपारी केन्द्रहरूमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।

सदरमुकाम स्थित राजपा नेपालको पार्टी कार्यालयबाट सुरू भएको मसाल जुलुस नगर परिक्रममा गर्दै निर्वाचन कार्यालय पुगेर टुङ्गिएको थियो । राजपका कार्यकर्ताहरूले बालेको मसाल निर्वाचन कार्यालयमा नै फालेर आएका थिए । राजपाका कार्यकर्ताहरूले मलङ्गवा, इश्वरपुर, गौडैता, सिसौटिया, सिसौट, बरहथवा, हरिपुर, गैर, नवलपुर सहितका स्थानमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय निकायको निर्वाचन बिथोल्ने गरी आह्वान गरेको कार्यक्रमअनुसार जेठ २९ गते राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

Photo20170612Saptari1

संविधान संशोधन नगरी स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिदै जेठ ३० गतेको बन्द आहृवान गरेको राजपा नेपालले बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेको हो ।

Photo20170612Saptari2

सरकार र तीन ठूला दलविरूद्ध चर्को नाराबाजी गर्दै स्थानीय महादेव मन्दिरको प्राङ्गणबाट निक्लिएको जुलुस नगरपरिक्रमा पश्चात शहीद दशन चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा वक्ताहरूले दोश्रो चरणको स्थानीय तहको निर्वाचन अगावै संविधान संशोधन नगरे निर्वाचन बहिष्कार मात्र नभई बिथोलेरै छाड्ने चेतावनी दिए ।

Photo20170612Saptari3

सरकारले संविधान संशोधनलगायतको माग सम्बोधन नगरेपछि निर्वाचनमा जाने वातावरण नबनेकोले आन्दोलनमा उत्रिनु परेको राजपा नेपाल, सप्तरीका संयोजक सुनिलकुमार झाले बताए ।

अन्य

भिडियो