INSEC Online

📅 २०८३ जेष्ठ २१

हरुवा चरुवा अधिकार यात्रा जनकपुरधाममा

राष्ट्रिय हरुवा चरुवा अधिकार मञ्च र राष्ट्रिय दलित नेटवर्कको संयुक्त आयोजनामा पर्साको वीरगंज र सप्तरीको राजविराज गरी दुई ठाउँबाट एकै दिन सुरु गरेको हरुवा चरुवा अधिकार यात्रा २०७९, चैत २८ गते जनकपुरधाममा आइ सम्पन्न भएको छ ।

राष्ट्रिय हरुवा चरुवा अधिकार मञ्चले मुक्त हरुवाचरुवाको न्यायिक पुर्नस्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र समाजिक सुरक्षा हाम्रो अधिकार भन्ने मुल नाराका साथ मधेस प्रदेशमा हरुवा चरुवा अधिकार यात्रा गरेको थियो ।

उक्त यात्रामा श्रीपुराज सामुदायिक विकास केन्द्र, सप्तरी, जनचेतना दलित सङ्गठन सप्तरी, दलित जनकल्याण युवा क्लब सिरहा र सामुदायिक सुधार केन्द्र धनुषाको समन्वय रहेको थियो ।

सभालाई सम्बोधन गर्दै राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विश्वकर्माले अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा हरवाचरवाको अधिकार सुनिश्चित गर्न प्रस्तावना लिएर जाँदा उक्त अधिकारका लागि आर्थिक श्रोत जुटाउन नसकिने बताएपछि सङ्घर्षका कार्यक्रमहरू घोषण गरिएको जानकारी दिनु भयो ।

हरुवा चरुवा मुक्तिको घोषणापछिको पुनःस्थापनाका सन्दर्भमा सरोकारवालाको ध्यानाकर्षण गर्न र स्वयम् मुक्त हरुवा चरुवालाई मुक्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले चैत्र २५ देखि २८ गतेसम्म एकै साथ सप्तरीको राजविराज र पर्साको वीरगंजबाट यात्रा निकालेर जनकपुधाममा आइ सम्पन्न गरिएको तर, आन्दोलन जारी रहने विश्वकर्माले बताउनु भयो ।

हरवाचरवा, हलिया भूमिहिन, सुकसम्वासी पहिचान गरी बसोवासका लागि घरघडेरी तथा जिविकोपार्जनका लागि कृषियोग्य जमिन सहित पुनः स्थापना गर्नु पर्ने र नेपालको संविधानको धारा १८, २४ र ४० को अक्षरशः कार्यान्वयन गर्न सकेमा मात्रै हरुवा चरुवा प्रथाको अन्त्य हुने उहाँको भनाई थियो ।

यसैबिच राष्ट्रिय हरुवा चरुवा अधिकार मञ्चले चैत २९ गते जनकपुरधाममा हरुवा चरुवा अधिकार यात्राको समिक्षा गर्दै पत्राकार सम्मेलनको आयोजना गरी आगामी योजना बारे जानकारी गराएको छ ।

आगामी दिनमा स्थानिय समुदाय केन्द्रित बहस तथा तीन ओटै तहका सरकारसँग छलफल गर्ने र ध्यानाकर्षण गराउने, प्रदेश सरकारको दलित विकास समितिसँगको समन्वयमा वृहत वहस सञ्चालन गर्ने र यति सबै गर्दा पनि परिपत्रको प्रभावकारी कार्यान्वयन नभएमा प्रत्येक स्थानिय तहमा धर्ना बस्ने साथै जनकपुरदेखि काठमाडौँ सम्मको पैदल यात्रा गर्ने पत्रकार सम्मेल मार्फत जनाइएको छ ।

337828869_181466421415405_6952564568513155493_n337785322_578207004407945_4592245305948008480_n337778154_791435958983072_7294698878773728997_n

अन्य

भिडियो