कोशी प्रदेश नामाकरणको विरोधका क्रममा चैत ५ गते प्रहरीको कुटपिटबाट घाइते भएका भनिएका र उपचारका क्रममा चैत १० गते मृत्यु भएका ४२ वर्षीय लाजेहाङ लिम्बू (पदम लिम्बू) को शवको पोष्टमार्टम १९ दिन बित्दा समेत हुन सकेको छैन ।
कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीलाई तत्काल प्रदेशसभाको बैठक बोलाएर कोशी नाम खारेज गर्न माग गर्दै संयुक्त सङ्र्घष समितिले चैत २६ गते समयसीमासहितको ज्ञापनपत्र बुझाएको छ ।
प्रदेशसभाको बैठक तत्काल बोलाएर कोशी प्रदेश नामाकरणका लागि समयसीमा(अल्टीमेटम) सहितको ज्ञापनपत्र चैत २६ गते बुझाइएको प्रदेश न. १ पुन नामाङ्कन सङ्घर्ष समिति धरानका सदस्य अमर इजमले बताउनु भयो ।
चैत २६ गते मुख्यमन्त्रीलाई बुझाइएको समयसीमासहितको ज्ञापनपत्रमा तत्काल माग सम्बोधन नभए सशक्त आन्दोलनको चेतावनी दिएको छ ।
किरात याक्थुङ चुम्लुङ अध्यक्ष प्रेम येक्तेन, आदीवासी जनजाति महासङ्घ अध्यक्ष ग्याल्जे शेर्पा, पहिचानसहितको प्रदेश न.१ पुन नामाङ्कन अभियान समिति अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा अध्यक्ष जीवन हाताचो र शेर्पा सङ्घ अध्यक्ष ग्याल्जे शेर्पाको संयुक्त हस्ताक्षरमा बुझाइएको ज्ञापनपत्रमा आन्दोलनको चेतावनी दिइएको छ ।
मन्त्री परिषद्को ०७९ चैत २४ गतेको निर्णय अनुसार लाजेहाङलाई शहिद घोषणा गरिएको छ ।
सरकारले शहिद घोषणा नगरेसम्म शवको पोष्टमार्टम नगर्ने अडान लिँदै आएको प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्र्घष समितिले लाजेहाङलाई सरकारले चैत २४ गते शहिद घोषणा गरेपछि पनि पोष्टमार्टम तत्काल हुन नसक्ने अडान लिएको छ ।
तेहृथुम जिल्लाको म्याङलुङ नगरपालिका–९ जिरीखिम्ती स्थायी घर भई सुनसरीको धरान उपमहानगरपालिका–१५ वागझरामा बस्दै आएका ४२ वर्षीय लाजेहाङ लिम्बू कोशी प्रदेश नामाकरणको विरोधमा ०७९ चैत ५ गते विराटनगरमा आयोजित विरोध कार्यक्रममा सहभागी भएको अवस्थामा प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
प्रहरीको कुटपिटबाट घाइते भएका लिम्बूको चैत १० गते उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा मृत्यु भएको संघर्ष समितिले चैत १० गते विज्ञप्ति जारी गरी जनाएको थियो ।
लाजेहाङको शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाको शव गृहमा राखिएको छ ।
लाजेहाङको परिवारलाई कोशी प्रदेश सरकारले ३ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय यस अघि गरिसकेको छ ।
०७९ चैत १३ गते बसेको कोशी प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले मृत्तकका परिवारलाई ३ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले बताउनु भयो । पीडित लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– सङ्घीय लिम्बूवान कमाण्डर हुन् ।
घटनाका विषयमा छानविनका लागि सङ्घीय सरकारले चैत ११ गते गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन गरेको थियो ।
समितिमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, नेपाल प्रहरीका एसपी नविनराज राई, सशस्त्र प्रहरीका एसपी रमेश उप्रेती, राष्ट्रिय अनुसन्धान आयोगका उपनिर्देशक शेरजङ्गबहादुर चन्द र उपसचिव रामकृष्ण शाही हुनुहुन्छ ।
चैत १४ गतेदेखि छानविन थालेको समितिले चैत २० गते नेपाल सरकारलाई छानविन प्रतिवेदन बुझाइ सकेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनु भयो ।
छानविन समितिले घटनाका विषयमा पीडित परिवार, सङ्घर्ष समितिका पदाधिकारीसँग छलफल, घटनास्थलको अवलोकन गरी प्रतिवेदन तयार पारिएको पोखरेलको भनाइ छ ।
घटनाका विषयमा इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापासहितको अधिकारकर्मीको टोलीले चैत १६ गते पीडित परिवारसँग भेट गरी घटनाका विषयमा जानकारी लिएको थियो ।
कोशी प्रदेशसभामा कायम ९३ मध्ये ८२ जना प्रदेशसभा सदस्यहरूको दुई तिहाइले फागुन १७ गते तत्कालीन प्रदेश १, को नामाकरण कोशी प्रदेश गरिएको छ ।
प्रदेशको नामकारण कोशी प्रदेश भनि प्रदेश सरकारले फागुन १८ गते प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेको छ ।

