२० वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा भगवतीमाई गाउँपालिका–२ रुम गाउँका १९ वर्षीय मोहन बुढालाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले चैत २८ गते कसुदारलाई सात वर्ष कैद, पीडितलाई पचास हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा १३ सय रुपियाँ तिनुपर्ने फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
२०७७ फागुन १६ गते गोठाला गएकी युवतीलाई बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरी दिनुभएको थियो । उजुरीका आधारमा प्रहरीले आरोपितलाई फागुन १७ गते नै गिरफ्तार गरेको थियो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण फागुन १७ गते दैलेख जिल्ला अस्पतालमा भएको थियो ।
प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय मार्फत चैत १२ गते बलात्कार कसुरमा अभियोग पेश गरेको र त्यही दिन भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आरोपित पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो ।