सेती प्रादेशिक अस्पतालमा सामाजिक सेवा इकाईमार्फत दिइने निःशुल्क उपचार सेवा बन्द हुँदा विपन्न तथा लक्षित समूहका व्यक्ति उपचार पाउनबाट वञ्चित हुदै आएका छन् ।
नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकललाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको भएपनि यस क्षेत्रका सेवाग्राहीहरुले आकस्मिक सेवा समेत पाउन नसकेको अवस्था छ ।
सुदूरपश्चिम प्रदेशको रेफ्रल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा गरिब, विपन्न, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, शहिद परिवार, एकल महिला, प्रहरी नियन्तत्रणमा रहेका व्यक्ति, प्राकृतिक प्रकोपमा परी घाइते भएका व्यक्ति लगायतका १२ ओटा लक्षित समूहका बिरामीका लागि वडा कार्यालयको सिफरिसमा दिदै आएको निःशुल्क उपचार सेवा २०७९ माघ १७ गतेदेखि बन्द हुँदा लक्षित समूहका बिरामी उपचार पाउनबाट वञ्चित भएका हुन् ।
धनगढी उपमहानगरपालिका–१५ का दिउला चौधरी तीन वर्षदेखि नियमित रुपमा प्रेसर र सुगरको औषधि निःशुल्क खाए पनि माघ १७ गते निःशुल्क सेवा बन्द हुँदा महँगोमा किनेर खानु पर्ने बाध्यता रहेको दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘पहिले सामाजिक सेवा इकाइको पर्चाले निःशुल्क औषधि लिएर जान्थे । अहिले कर्मचारीले सामाजिक सेवा इकाइबाट दिने निःशुल्क सेवा बन्द भएको भनेर फर्काइ दिएपछि महँगोमा औषधि किनेर खानुु परेको छ ।’
धनगढी उपमहानगरपालिका–११ बेलाकी भागा चुुनाराले दम र सुगर रागको बिरामी भएपछि दुई वर्षदेखि निःशुल्क उपचार र औषधि नियमित खाइरहेको भएपनि सामाजिक सेवा इकाइको उपचार सेवा बन्द भएपछि आर्थिक अभावका कारण औषधि खरिद गर्न नसकेको गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘दमको औषधि एक दिन नछुटाई खानु भनेर डाक्टरले सल्लाह दिएका थिए । तर, आफूसँग औषधि किन्ने पैसा नभएर बिना औषधि घर फर्किनु परेको छ ।’
कैलारी गाउँपालिका–६ धर्मापुरकी भोजिया चौधरीले गत साउन महिनमा पाठेघरको निःशुल्क शल्यक्रिया गरेर नियमित निःशुल्क औषधि खाइरहेको भएपनि निःशुल्क उपचार सेवा बन्द हुँदा औषधि किनेर नियमित रुपमा खान नसकिएको दुखेसो पोख्नु भयो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले लक्षित वर्गको निःशुल्क उपचारका लागि आएको बजेट सकिएको र थप बजेट नआएका कारण सामाजिक सेवा इकाई बन्द गर्नु परेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘दिनीक रुपमा १ सयदेखि २ सयसम्म व्यक्तिहरु निःशुल्क उपचार गराउन आउनु हुन्छ । बिरामीको सङ्ख्या बढे पनि राज्यले बजेट बढाउदैन् । त्यसकारण अस्पतालले बजेट अभावमा बाध्यताले सेवा बन्द गर्नु परेको हो ।’
सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डाक्टर चेतराज पन्तले प्रदेश सरकारले उपलब्ध गराएको बजेट सकिएकाले संघीय सरकासँग थप बजेटकको लागि पहल गरिरहेको बताउनु भयो ।
