INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षमता भन्दा तेब्बर बालबन्दी, बालबालिकालाई बस्नै सकस

भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा क्षमताभन्दा तेब्बर बढी बालबालिका राख्दा कैद भुक्तान गर्न आएका बालबालकालाई निकै समस्या परेको छ ।

बाल सुधार गृहमा रहेका एक बालकका आमाले क्षमताभन्दा बढी बालबालिका राख्दा निकै असुविधा भएको र बालबालिकाले पाउनु पर्ने सुविधा नपाएको गुनासो गर्नु भयो ।

बाल सुधार गृहमा कुनै न कुनै अपराध गरेर आएका बालबालिका खान, बस्न, पढ्न र स्वास्थ्य उपचारमा बढी सचेत हुनु पर्नेमा कोचिएर बस्नु पर्दा निकै पीडा भएको सुधार गृहमा रहेका आफ्ना छोरासँगको भेटमा जानकारी पाएको ती बालकका आमाले बताइन् ।

हत्या, बलात्कारलगायतका विभिन्न अपराधमा अदालतको आदेशले सजाय भुक्तान गर्न विभिन्न जिल्लाबाट बाल सुधार गृह सानोठिमी ल्याइएका बालबालिका क्षमता भन्दा बढी सङ्ख्यामा राख्दा समस्या भएको त्यहाँ कार्यरत कर्मचारीसमेत बताउँछन् ।

गैरसरकारी संस्था यूसेपको सहयोगमा ‘ग’ श्रेणीको बाल सुधार गृहको रुपमा २०५८ सालदेखि सञ्चालनमा आएको यहाँको क्षमता १ सय जना बालक र १० जना बालिका गरी कूल १ सय १० जनाको क्षमता रहेको बाल सुधार गृह एवम् यूसेपका निर्देशक केशव सुवालले जानकारी दिनुभयो ।

चैत २८ गतेसम्म बाल सुधार गृह सानोठिमीमा कैद भुक्तान गर्न आएका थुनुवा २ सय ८२ बालबालिका रहेको जानकारी दिँदै उहाँले जसमध्ये बालक २ सय ४७ जना र बालिका ३५ जना रहेको बताउनु भयो ।

सुधार गृहमा अदालतको आदेशले आफ्नो कारबाही भुक्तान गर्न आएका बालबालिका क्षमता भन्दा बढी राख्दा उनीहरूको मानसिक, शारीरिक, बौद्धिक तथा शैक्षिक उन्नतीमा बाधा पुगेको गृहमा रहेकी एक बालिकाले बताइन् ।

बालसुधार गृहमा शिक्षाको राम्रो व्यवस्था भएपनि गृहमा आवश्यकता भन्दा तेब्बर बढी संख्यामा बाल बन्दी राख्नु पर्दा रासनदेखि अन्य सेवा सुविधामा बेलाबेलामा समस्या आउने गरेको निर्देशक सुवालले बताउनु भयो । उहाँले आएका समस्यालाई अहिलेसम्म हल गर्दै आए पनि सरकारले यसको क्षमता बृद्धि गर्नुपर्ने बताउनुभयो ।

शिक्षामा समस्या नभएको, विद्यार्थीलाई शिक्षादेखि पुस्तकालय, खेलकुदको व्यवस्था रहेको, बेला बेलामा स्वास्थ्य परीक्षण गर्ने गरेको, बिमाको उपचारको व्यवस्था रहेको, थप पौष्टिक आहारको व्यवस्था गरेको, बाल सुधार गृह एवम् यूसेपका निर्देशक सुवालले जानकारी दिनुभयो ।

कक्षा १२ सम्ममा अध्ययन गर्नका लागि कक्षा कोठा थप सहित भवन निर्माण भएको र यसको स्वीकृति पाए विद्यार्थीको अध्ययनलाई थप माथि लैजान सहज हुने उहाँको भनाइ छ । कक्षा १२ सम्म सञ्चालनका लागि विगत तीन वर्षदेखि सम्बन्धन माग गरे पनि नपाएको र उहाँले बताउनु भयो ।

बालबालिकालाई यूसेपले प्रदान गर्दै आएको ड्राइभिङ, अटोमोवाइल, वाइरिङ्ग, हेवी इक्वीपमेण्ट, मोटरसाइकल तथा गाडी मेकानिकल लगायतका प्राविधिक तालिम तथा सिपसमेत प्रदान गरिएको बताउँदै सुवालले सरकारले यसको क्षमता बृद्धि गरिदिए सहज हुने बताउनु भयो ।

अन्य

भिडियो