जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन । भेरी नगरपालिका–१३ कुदुका ध्रुब प्रसाद शर्मा पेटमा समस्या भएपछि उपचारकालागि भन्दै जिल्ला अस्पताल खलंगा पुगे तर विशेषज्ञ डाक्टर अस्पतालमा नहुँदा उपचार हुन नसकेपछि उनले पुन फर्केर रुकुम पश्चिमको चौरजहारीमा रहेको मिसन अस्पतालमा गएर उपचार गराए ।
भेरी नगरपालिका–३ मा रहेको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा ध्रुब प्रसाद शर्मा जस्तै अन्य बिरामी पनि सेवा नपाएपछि अन्यत्र गएर उपचार गराउँछन् । सानो समस्याका लागि महङ्गो रकम खर्च गरेर बाहिर जानु पर्ने बाध्यता रहेको ध्रुब प्रसाद शर्माले बताउनु भयो ।
५० शैयाको जिल्ला अस्पतालमा कार्यालय प्रमुख सहित सातजना विभिन्न रोगका विशेषज्ञ डाक्टरको दरबन्दी रहेको भएपनि हालसम्म अस्पतालमा एक जना पनि विशेषज्ञ डाक्टर नआएको जिल्ला अस्पतालका प्रमुख नवराज कँडेलले बताउनु भयो । विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई कोहलपुर, नेपालगञ्ज, सुर्खेत वा काठमाडौँ गएर उपचार गराउनुपर्ने बाध्यता रहेको छ ।
जिल्ला अस्पताललाई ०७२ असोज २२ गते नेपाल सरकारको मन्त्री परिषद्ले ५० शैयाको सुविधा सम्पन्न अस्पताल बनाउने निर्णय गरेको र सोही बमोजिम ५० शैयाको अस्पतालको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको भएपनि अस्पतालमा हालसम्म दरबन्दीका डाक्टर जिल्लामा आएका छैनन् ।
जिल्ला अस्पतालमा विशेषगरी स्त्रीरोग र बालरोग विशेषज्ञको आवश्यता बढी रहेको र जिल्ला अस्पतालमा डाक्टरहरू बस्ने आवास लगायतका भौतिक संरचनाको अभावका कारण पनि जिल्लामा विशेषज्ञ डाक्टर आउन नमान्ने समस्याको समेत हल भैसकेको भएपनि विशेषज्ञ डाक्टर आउन नमानेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कँडेलको भनाई रहेको छ ।
त्यसै गरी नागरिक समाजका अगुवा तथा मानव अधिकार क्षक सञ्जाल जाजरकोट संयोजक राजेन्द्र विक्रम शाहले विशेषज्ञ डाक्टरलाई कसरी हुन्छ जिल्लामा ल्याउने व्यवस्था गर्न पर्छ अन्यथा राजयले करोडौ करोड रकम खर्च गरेर भवन निर्माण गर्ने तर विशेषज्ञ चिकित्सक लाई खटाउन नसक्ने पनि हुन्छ भन्दै प्रति प्रश्न गर्नु भयो ।
बालरोग, स्त्रीरोग, हाड तथा जोर्नीरोग, रेडियोग्राफी, ल्यावलगायत सातजना विशेषज्ञ डाक्टरको दरबन्दी भएता पनि जिल्ला अस्पताल हाल करारमा कार्यरत एमबिबिएस डाक्टरको भरमा चल्दै आएको अस्पताल प्रमुख कँडेलले बताउनु भयो ।
विशेषज्ञ डाक्टर जिल्लामा कार्यरत भएमा जिल्लाबासीले उपचारका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हट्ने डाक्टर अवसरसिंह राठौर बताउनु हुन्छ । राठौरले भन्नु भयो–‘अहिले प्रदेश सरकारले जनस्वास्थ्य र अस्पताललाई एकै ठाउँमा गाभेर जिल्ला स्वास्थ्य सेवा कार्यालय बनाएको भएपनि दक्ष जनशक्ति नभए सम्म जनताले सहज र सरल रूपमा सेवा प्राप्त गर्न कठिनाइ छ ।’