अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गन्डकी प्रदेश कार्यालयद्वारा ०७९ चैत २४ गते तनहुँ कारागारको अनुगमन गरिएको छ । कैदी बन्दीको मानव अधिकारको अवस्था, कानुनी उपचारको व्यवस्था, स्वास्थ्य उपचारको अवस्था लगायतको बारेमा अनुगमन तथा अन्तरक्रिया गरिएको हो । । तनहुँ कारागारको महिला कारागारमा दुई बालबालिका र १७ जना महिला कैदीबन्दी छन् र पुरुष कारागारमा दुई सय ७४ जना कैदबन्दी रहेका छन् ।
केही महिला कैदीबन्दीले आफुहरूलाई कारागारका नाइकेहरूले कुटपिट गर्ने गरेको, धर्म परिवर्तन गर्न दवाब दिने गरेको, परिवारका सदस्यसँग पनि टेलिफोन सम्पर्क गर्न नदिएको जस्ता आफ्ना गुनासाहरू कारागार व्यवस्थापन समक्ष पुर्याउन पनि नदिएको जस्ता गुनासो गर्नुभएको थियो ।
४५ वर्षीया एक महिला बन्दीले आफुलाई नाइके मनमाया वि कले पटक पटक कुटपिट गरेको, धर्म परिवर्तन गर्न दवाव दिएको, उपचार गर्न पनि जान नदिएको जस्ता गुनासो गर्नु भएको थियो । अन्य केही कैदीबन्दीले पनि नाईके र चौकीदारद्वारा नियमित यातना दिईने गरेको बताउनुभएको थियो ।
कैदीका नाईके वि कले भने कारागारको आन्तरिक नियम पालना गराउने क्रममा कहिलेकाँही सामान्य हातपात भएको हुन सक्ने भन्दै आयन्दा त्यसो नगर्ने बताउनु भएको थियो । सो क्रममा महिला कैदीबन्दीहरूले सिपयुक्त काम गर्न नपाईएको बताउनुभएको थियो
त्यस्तै पुरुष कैदीबन्दीले भने सरकारले दिएको दैनिक ८० रुपियाँ सिदा आफुहरूलाई अपुग भएको, लामो समयसम्म मुद्दाको फैसला नहुँदा धेरै समय कारागारमा बस्न बाध्य हुनु परेको, अदालतमा आफ्नो पेशी र बकपत्रको समयमा आफुलाई उपस्थित नगराइएको जस्तो गुनासो गर्नुभएको थियो । कारागारको आन्तरिक व्यवस्थापन पक्ष भने राम्रो रहेको कैदी बन्दीले बताउनुभयो ।
उक्त अवसरमा इन्सेक गन्डकी प्रदेशका संयोजक शिव खकुरेलले कारागारका कैदीबन्दीको न्युनतम मानव अधिकार अवस्थाको बारेमा जानकारी लिन अनुगमन गरिएको बताउनु भयो । इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकमा जेल र कैदीबन्दीको अवस्थाको बारेमा उल्लेख गरिँदै आएको भन्दै खकुरेलले नियमित रूपमा कारागारमा गरिने अनुगमनबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्ने सम्बन्धित निकायमा सुझाव स्वरूप उपलब्ध गराईने बताउनु भयो ।
अनुगमन पछि खकुरेलले कैदी बन्दीहरूको लागि मानव अधिकार सम्बन्धि विभिन्न पुस्तकहरू कारागार प्रशासनका लेखापाल जिवन बुढा र कैदी बन्दीका नाइकेलाई हस्तान्तरण गर्नु भएको थियो ।
कारागारको अनुगमन र अन्तरक्रिया पछि इन्सेकले निमित्त प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेलाई अनुगमनबाट प्राप्त प्रारम्भिक निश्कर्ष सुझाव स्वरूप जानकारी गराएको थियो । महिला बन्दिगृहमा हुने कुटपिट र यातनालाई तुरून्त रोक्ने व्यवस्था मिलाउन इन्सेक संयोजक खकुरेलले निमित्त प्रजिअ गैह्रेलाई अनुरोध गर्नु भएको थियो । निमित्त प्रजिअ गैह्रेले यसबारेमा कारागारका प्रमुखसँग आफुले कुरा गर्ने बताउनु भएको थियो ।
अनुगमनमा नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ र महिला मानवअधिकार रक्षक सन्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

