तनहुँ प्रहरीले ०७७ चै २८ गते शुक्लागण्डकी नगरपालिका–८ गुर्दमका ६८ वर्षीय बुधे दमैलाई गिरफ्तार गरेको सार्वजानिक गर्यो ।
विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीहरूको खोजी गर्ने क्रममा प्रहरीले दमैलाई गिरफ्तार गरिएको विवरण सञ्चार माध्यममार्फत सार्वजानिक गरेको थियो ।
०२९ सालमा भएको बलात्कारको घटनामा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएको तर सजाय भुक्तान नगरी फरार भएका बुधे दमैलाई गिरफ्तार गरी सजाय भुक्तानको लागि कारागार पठाइएको प्रहरीले जनाएको थियो ।
तर, प्रहरीले गिरफ्तार गरेका व्यक्ति उक्त घटनाको वास्तविक दोषी नभई उनका सहोदर दाइ भएको स्वयम् पीडितले गुनासो गर्नु भएको छ । पीडित बुधे दमैले प्रहरीले भाइले गरेको अपराधमा आफूलाई सजाय दिएको गुनासो गर्नु भयो ।
तनहुँ कारागारका कैदीबन्दीको मानव अधिकारको अवस्था बारेमा अनुगमन गर्न चैत २४ गते कारागार गएको इन्सेक नेतृत्वको मानव अधिकारकर्मीहरूको टोली समक्ष बुधेले भाइले गरेको अपराधमा आफूलाई सजाय दिएको भन्दै न्यायको याचना गर्नु भएको छ ।
०२९ सालमा भएको बलात्कारको मुद्दामा तनहुँ जिल्ला अदालतले शुक्लागण्डकी नगरपालिका–८ गुर्दुमका केशे दमैलाई ६ वर्षको कैद सजाय फैसला गरेको थियो ।
त्यसबेला फरार रहेका केशे दमैको फरार रहेकै बेला मृत्यु भयो । अभियुक्तको मृत्यु भएपछि उक्त मुद्दाको फाइल नै बन्द हुनु पर्नेमा प्रहरीले भने केशे दमै भन्दै उनका ६७ वर्षीय दाइ बुधे दमैलाई ०७७ चैत २८ गते गिरफ्तार गरेको थियो ।
अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादीको सूचीमा रहेका केशे दमैको खोजतलास गरेको प्रहरीले बुधेलाई भाइ भन्ने ठानेर गिरफ्तार गरी कारागार चलान गरेको पीडितले बताउनु भयो ।
आफूले पटक–पटक म केशेको दाइ हो भन्दै आएपनि प्रहरीले गिरफ्तार गरेर कारागारमा राखेको बुधेले मानव अधिकारकर्मीहरू समक्ष गुनासो गर्नु भएको थियो ।
६ वर्ष कैद सजाय पाएका दमैले दुई वर्ष भुक्तान गरिसक्नु भएको छ । ‘गल्ती भाईले गर्ने सजाय मैले भोग्नु पर्यो ।दुख सम्बन्धित निकायमा राखिदिनु हुन अनुरेध गर्दछु ।’–उहाँले भन्नु भया ।
भाइको मृत्यु दर्ता प्रमाणपत्र कारागारमा बुझाइसकेपनि आफूलाई नै भाइ भन्ने ठानेको उहाँले बताए ।
उहाँले न्यायको लागि पहल गर्न मानव अधिकारकर्मीहरू समक्ष अनुरोध गर्नु भएको थियो ।
केही महिनाअघि जिल्ला न्यायाधीश कारागारको अनुगमन गर्न आउँदा पनि आफ्नो पीडा न्यायाधीश समक्ष सुनाएको बुधेले बताउनु भयो ।
प्रहरीले केशे दमै र बुधे दमै भन्ने एउटै व्यक्ति भएको भन्दै अदालतमा उपस्थित गराएपछि अदालतले कैदको लागि थुनामा पठाएको जिल्ला कारागार तनहुँका निमित्त प्रमुख नारयण अधिकारीले बताउनु भयो ।
अदालतबाट आदेश नआउँदासम्म कसैलाई पनि छाड्न नमिल्ने अधिकारीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी अवदेश विष्टले उक्त घटनाको बारेमा विस्तृत अनुसन्धान गरेपछि मात्र यसबारेमा के भएको हो भन्न सकिने बताउनु भयो ।