INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भोजपुरको षडानन्द नगरपालिका–१२ स्थायी घर भई खाँदबारी नगरपालिका–९ का २२ वर्षीय धनबहादुर भनिने धनराज तामाङलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश टेकनाथ गौतमको ०७९ चैत १९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १८ वर्ष कैद सजायसँगै १० हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

अदालतको सोही आदेशले कसुरदारलाई पीडित राहत कोषमा २ हजार २ सय रुपियाँ जम्मा गर्न आदेश भएको श्रेस्तेदार  गौतमले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ फागुन १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७८ फागुन १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले फागुन १९ गते घरबाट गिरफ्तार गरी जिल्ला अदालतमा फागुन ३० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको चैत ६ गते आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १७ गते गरिएको थियो ।

अन्य

भिडियो