१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका–९ का २३ वर्षीय सविन दर्जीलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश टेकनाथ गौतमको ०७९ चैत १६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १८ वर्ष कैद सजायसँगै १० हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
अदालतको सोही आदेशले कसुरदारलाई पीडित राहत कोषमा २ हजार २ सय रुपियाँ जम्मा गर्न आदेश भएको श्रेस्तेदार गौतमले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७८ चैत ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले चैत १५ गते घरबाट गिरफ्तार गरी जिल्ला अदालतमा चैत ७ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको चैत १० गते आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ६ गते गरिएको थियो ।