मनहरीका भक्तबहादुर रेग्मीले शहीदको अभिलेखमा नाम छुट भएको भन्दै मकवानपुर जिल्ला प्रशासनसमक्ष निवेदन दिएका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका–४ (साबिक हाडीखोला गाविस–७) निवासी रेग्मीकी पत्नी अञ्जुको माओवादी द्वन्द्वकाल ०५९ कात्तिक १८ गते पेट्रोल बमको प्रहारबाट निधन भएको थियो ।
उक्त दिन हेटौँडाबाट सिरहाको सिरहामाडरतर्फ जाने क्रममा सोही जिल्लाको सासापुर गाविस–१ स्थित हाइवे रोडको गणेशचोकमा तत्कालीन नेकपा माओवादीले मकालु यातायातको ना. २ ख ३५१३ नम्बर सार्वजनिक बसमा पेट्रोल बम प्रहार गर्दा घाइते भएकी अञ्जुको उपचारका क्रममा भारतको रक्सौलस्थित डङ्कन अस्पतालमा मृत्यु भएको थियो ।
घटनामा पाँच वर्षीया छोरी रबिना र तीन वर्षीय छोरा रबिन घाइते भएकोमा उनीहरूको हालसम्म पनि उपचार गरिरहनु परेको रेग्मीले बताउनु भयो ।
सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका व्यक्तिलाई नेपाल सरकारले विभिन्न समयमा शहीद घोषणा गर्दै आएको छ । त्यसरी शहीद घोषणा गर्ने र नाम सार्वजनिक गर्ने क्रममा मन्त्रिपरिषद्को फागुन १५ गतेको निर्णय अनुसार नेपाल सरकारले फागुन २९ गते राजपत्रमा शहीदको नाम प्रकाशन गर्दा अञ्जुको नाम समावेश नभएको रेग्मीले जानकारी दिनुभयो ।
द्वन्द्वका क्रममा मारिएका धेरैजसो व्यक्तिको नाम समावेश भएको तर अञ्जुको नाम समावेश नहुँदा विभेद भएको देखिएको भन्दै उहाँले द्वन्द्वका क्रममा मारिएका व्यक्तिको नाम एकिन गरी अञ्जुको नाम शहीदको सूचीमा समावेश गरिदिन दिएको निवेदनमा अनुरोध गरिएको छ ।
इन्सेकमा निवेदनसहित गुनासो गरेपछि जिल्ला प्रशासन मार्फत् आफ्नो माग राख्न इन्सेक प्रदेश संयोजक गणेश भण्डारीले सहजीकरण गर्नुभएको थियो । उनको निवेदन १७२० नम्बरमा जिल्ला प्रशासन कार्यलयमा दर्ता भएको छ ।