एम्नेष्टि इन्टरनेशनलले एसिया क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र सङ्गठित हुन पाउने अधिकार कुण्ठित गर्ने देशहरूमा नेपाल पनि रहेको जनाएको छ ।
एम्नेष्टि इन्टरनेशनलले विश्वको मानव अधिकारको अवस्था बारेको प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा अभिव्यक्ति स्वतन्त्रता र सङ्गठित हुन पाउने अधिकार कुण्ठित भएको जनाएको हो ।
प्रतिवेदनमा मानव अधिकार हनन्का घटनामा कमी नआएको निष्कर्ष रहेको उल्लेख छ ।
विश्वभर एकसाथ निष्कर्ष सार्वजनिक भएको प्रतिवेदनमा एसियामा रहेका भारत, बङ्गलादेश, इण्डोनेसिया, नेपाल, पाकिस्तान, श्रीलङ्का र थाइल्याण्डमा स्वतन्त्रता माग गर्नेहरूमाथि सरकारले स्वेच्छाचारी गिरफ्तार गर्ने, लामो समय हिरासतमा राख्ने काम निरन्तर गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल लगायतका देशमा अधिकार माग गर्ने व्यक्ति तथा समूहलाई दबाउन अत्यधिक बल गर्ने तथा घातक बल प्रयोग भएको जनाइएको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै एम्नेष्टि इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले नेपालको सबै सरकारले निरन्तर दमन गर्ने र असहिष्णु व्यवहार गर्ने गरेको बताए ।
प्रतिवेदनमा नेपालको मानव अधिकारका बारेमा भेला हुने र अभिव्यक्ति स्वतन्त्रता सत्य न्याय र परिपूरणको अधिकार यातना र अन्य दुर्व्यवहार आदिवासी जनजातिको अधिकार महिला अधिकार तथा खाद्य र आवासको अधिकारका विषय समेटिएको छ ।
उल्लिखित कुनै पनि विषयमा नेपालको मानव अधिकारको सकारात्मक अवस्था नरहेको प्रतिवेदनमा जनाइएको छ ।