नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक अन्तर्गत हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था भएता पनि नागरिकहरुले आधारभूत स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।
महाकाली प्रादेशिक अस्पतालमा मृगौला रोग पीडितहरुका लागि डेलीसिस सेवा सञ्चालन नहुँदा विरामीहरुले सास्ती खेप्नु परेको छ ।
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका मृगौला रोग पीडित जयबहादुर विष्टले आफ्नो जिल्लामा रहेको महाकाली प्रादेशिक अस्पतालमा डेलीसिस सेवा नहुँदा विगत दुई वर्षदेखि कैलाली जिल्लास्थित सेती प्रादेशिक अस्पतालमा हप्ताको दुई पटक डेलीसिस गर्न बाध्य हुनु परेको गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘दुबै मृगौलाले काम गर्न छोडेपछि दुई वर्षदेखि सेती प्रादेशिक अस्पतालमा धाउन बाध्य छु । जान आउन नै समस्या छ । विरामीको अत्याधिक चाँपले गर्दा पालो आउदैन् । पालो कुर्नका लागि धनगढीमा बस्नु पर्छ । खर्च जुटाउन नै समस्या हुने गरेको छ । आफ्नै जिल्लाको अस्पतालमा सुविधा भएको भए राहत हुन्थ्यो ।’
गृह जिल्लामा डेलीसिस सेवा भएको भए छाक टार्न मुस्किल रहेको आफ्नो परिवारलाई केही मात्रामा भए पनि खर्चमा मिल्ने अर्का मृगौला रोग पीडित भीमदत्त नगरपालिका–१० तिलकेनीका नन्दराज जोशीको भनाइ छ ।
उहाँले आफू विगत तीन वर्षदेखि मृगौला रोगबाट पीडित भएको र जिल्लामा मृगौला रोगबाट पीडितहरुको उपचार सेवा नहुँदा समस्या भोग्नु परेको बताउनु भयो ।
शुक्लाफाँटा नगरपालिका–७ कालापानीकी काली भाटले जिल्लामा डेलीसिस को सुविधा नहुँदा चर्काे आर्थिक भार बहन गरेर जिल्लादेखि बाहिर गएर उपचार गराउन बाध्य हुनु परेको गुनासो गर्नु भयो ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डेलीसिस सेवाका लागि मेसिन जडान तथा जनशक्ति समेत व्यवस्थापन गरिएको भए पनि सञ्चालनको अनुमती नपाउदा मृगौला रोग पीडितहरुले सास्ती खेप्नु परेको बताउनु भयो ।
उहाँले विभागबाट अनुमती पाए लगत्तै दुई सिप्टमा डेलीसिस सेवा सञ्चालन गर्ने योजना रहेको र यसले मृगौला रोग पीडितले भोग्नु परेको आर्थिक भारमा समेत कमी ल्याउने बताउनु भयो ।