जिल्ला सदरमुकामस्थित महेन्द्र नमूना मावि खलंगामा अध्ययनरत विद्यार्थी र अभिभावकले विद्यार्थीको पढाई पूरा नहुँदै विद्यार्थीले वार्षिक परीक्षा दिन बाध्य भएको गुनासो गर्नु भएको छ ।
चैत ७ गतेबाट सुरु भएको वार्षिक परीक्षामा यस विद्यालयको कक्षा ७, ८ र ९ को गणित विषयको पढाई अधुरो रहेको छ । अधुरो पढाइकै आधारमा विद्यार्थीहरुले वार्षिक परीक्षा दिनु परेको गुनासो गरेका हुन् ।
अधुरै पढाईले आफूहरुको सिक्न पाउने अधिकारबाट वञ्चित हुनुपरेको विद्यार्थीको गुनासो छ ।
कक्षा ९ को एफ सेक्सनमा अनिवार्य गणित विषयका सात ओटा युनिटमध्ये तीन युनिटको मात्रै पठनपाठन भएको विद्यार्थीहरु बताउँछन् ।
पाठ्यपुस्तकमा रहेका सात युनिटमध्ये सुरुका तीन युनिटको मात्रै कक्षामा पढाइ भएको एफ सेक्सनका एक विद्यार्थीले बताउनु भयो । उहाँका अनुसार सेट, अंकगणित र क्षेत्रमितिका युनिटहरुको पढाइ गरिएको छ ।
पाठ्यपुस्तकमा रहेका बीजगणित, रेखागणित, तथ्याङ्क र सम्भाव्यता तथा त्रिकोणमितिका इकाइहरुको पठनपाठन भएको छैन । ५७ जना विद्यार्थी रहेको उक्त सेक्सनका विद्यार्थीले पढाइ पूरा हुन नसकेको विषय विद्यालय प्रशासनलाई जानकारी गराएका थिए ।
प्राविधिक कारणले कक्षा ९ को एफ सेक्सनमा गणित विषयको कोर्ष पूरा हुन नसकेको मावि खलंगाका सहायक प्रधानाध्यापक दामोदर जोशी बताउनु हुन्छ ।
‘शिक्षकको जिम्मेवारी परिवर्तन र अन्य केही कारणले पूरै कोर्षको पढाइ भएको छैन, उहाँले भन्नु भयो नयाँ शैक्षिक सत्रको सुरुमै बाँकी कोर्ष पढाउने तयारी गर्छौँ ।’
मावि खलंगामा कक्षा ८ को ई सेक्सनमा गणित विषयका २२ पाठमध्ये पाठसङ्ख्या नौ र २२ को पढाइ भएको छैन । पाठसङ्ख्या २१ को पनि आधा मात्रै पढाइ भएको एक विद्यार्थीले बताउनु भयो ।
कक्षा ८ को जिल्लास्तरीय परीक्षा चैत ८ गतेबाट सुरु भएको छ । कक्षा ८ कै कम्प्युटर शिक्षा विषयका २० पाठमध्ये पाठसङ्ख्या १८, १९ र २० को पढाई नभएको ती विद्यार्थी बताउँछन् ।
कक्षा ७ को सेक्सन ए मा पनि गणित विषयको पठनपाठन अधुरो छ । उक्त सेक्सनमा अध्ययनरत एक विद्यार्थीका अनुसार गणित विषयका जम्मा २१ पाठहरुमध्ये चार ओटा पाठको पढाइ भएको छैन ।
पाठसङ्ख्या १६, १७, १८ र १९ को पठनपाठन नभएको ती विद्यार्थीले जानकारी दिनु भयो । उहाँका अनुसार पाठसङ्ख्या २१ को पनि आधा मात्रै पढाइ गरिएको छ ।
मावि खलंगामा कक्षा ६ को ए सेक्सनमा सामाजिक र कम्प्युटर विषयको पढाइ पूरा हुन सकेको छैन । उक्त सेक्सनमा अध्ययनरत एक विद्यार्थीका अनुसार सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयमा जम्मा नौ ओटा युनिटहरु रहेकोमा युनिट नम्बर ८ र ९ को पढाइ भएको छैन ।
युनिट ८ मा जनसङ्ख्या र जनसङ्ख्यकी शीर्षक ६ भने युनिट नौ मा अन्तर्राष्ट्रिय सम्बन्ध, समसामयिक घटना र सूचना प्रविधि शीर्षक छ ।
कक्षा ६ कै कम्प्युटर शिक्षामा १७ ओटा युनिट रहेकोमा १५ युनिटको मात्रै पढाइ भएको छ । युनिट नम्बर १५ को पेन्ट प्रोग्राम र युनिट १६ को मल्टिमिडिया शीर्षकको पढाइ हुन नसकेको ती विद्यार्थीले जनाउनु भयो ।
कक्षा ९ को एफ सेक्सनमा अनिवार्य गणित विषयको पढाई पूरा नभएको जानकारी मात्र आफूसँग रहेको सहायक प्रधानाध्यापक दामोदर जोशीले बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले चालु शैक्षिक सत्र एक महिना ढिलो गरी सञ्चालन हुनु, दुई ओटा निर्वाचनका कारण विद्यालयको समेत पढाई प्रभावित हुँदा विद्यार्थीको कोर्ष नसकिएको प्रष्ट्याउनु भयो ।
विद्यालयमा हाल झण्डै ३ हजार विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी सङ्ख्या छैन् ।
महाकाली नगरपालिका विद्यालय निरीक्षक हेमराज जोशीले विद्यालयले चालु शैक्षिक सत्रको सुरुमा कोभिडका कारण ढिलोगरी पढाइ सञ्चालन भएको तथा निर्वाचनलगायतका विभिन्न कारणले कोर्ष पूरा हुन नसकिएको जानकारी आफुलाई दिएको बताउनु भयो ।
विद्यालयमै मतदान केन्द्र र मतगणनास्थल भयो । विद्यालयमा शिक्षक अभाव लगायतका कारणले यो वर्ष पढाई पूूरा हुन नसकेको जानकारी आएको विद्यालय निरीक्षक जाशीले बताउनु भयो ।