तीन महिनादेखि जिल्ला अस्पताल हुम्लामा औषधीको चरम अभाव भएको छ । १५ सैया रहेको एक मात्रै जिल्ला अस्पतालमा माघ महिनाको पहिलो सातादेखि ओैषधीको चरम अभाव देखिएको हो । आधारभुत औषधीसम्म नहुँदा गाउँपालिका र गैह्रसरकारी संस्थासँग सापट मागेर काम चलाउदै आएका छन ।
चैत ११ गते सिमकोट गाउँपालिका–१ ठेहे गाउँका २६ वर्षीय विर भण्डारी बिष सेवन गरेपछि सोही दिन जिल्ला अस्पतालमा ल्याएको आफन्त विजय भण्डारीले बताउनु भएको छ । अस्पतालमा उपचार गर्ने ओैषधी नहुदाँ सिमकोट गाउँपालिका–७ स्थित डाँडाफयाँ स्वास्थ्यचौकीबाट औषधी सापट मागेर उपचार गरेको आफन्त भण्डारीले बताउनु भएको हो ।
अस्पतालमा पर्याप्त औषधी नभएकै कारण विरामी भण्डारीलाई चैत १२ गते जिल्ला बाहिर सुविधा सम्पन्न अस्पतालमा रिफर गरेको छ । त्यस्तै खार्पुनाथ गाउँपालिका–४ का ८ वर्षीय सञ्जिव रावलको हातको हड्डी भाँचिएर जिल्ला अस्पताल पुराउदा समेत अस्पतालमा औषधी नभएपछि बजारमा रहेका मेडिकलहरूबाट औषधी किन्नु परेको विरामीका बाजे प्रजित रोकायाले गुनासो गर्नु भएको छ ।
औषधी छैन बाहिर निजी मेडिकलबाट महंगो मुल्यमा किनेर ल्याएर उपचार गर्नु परेको रोकायाले बताउनु भयो । श्रीमतीको उपाचार गर्न जिल्ला अस्पताल पुगेका सर्केगाड गाउँपालिका–२ का मनसिंह कार्की औषधी नभएर निजि मेडिकलबाट किन्न बाध्य भएको गुनासो गर्नु भएको छ ।
जिल्ला अस्पतालमा तीन महिनादेखि औषधिको अभाव भएको जिल्ला अस्पताल हुम्लाका निमित्त कार्यालय प्रमुख सरिता बोहराले बताउनुभयो । संघबाट बजेट आउँदा औषधीको समस्या थिएन तर प्रदेश मातहातबाट औषधी आउने भएपछि समस्या देखिएको निमित्त कार्यालय प्रमुख बोहराको भनाई छ ।माग फार्म पेश गर्दा समेत सम्बन्धित निकायले चिन्ता चासो नदेखाएको बोहराले बताउनुभयो ।
प्रदेशबाट दिएको १० लाख बजेटबाट खरिद गरेको औषधी दुई महिना मात्रै पुग्ने गरेको जिल्ला अस्पताल हुम्लाको स्टोर किपर मनिकृष्ण जैसीले बताउनुभयो ।तर राज्यले पनि हुम्लालाई हेर्न दृष्टिकोण फरक रहेको उहाँको भनाई छ । जिल्ला अस्पताल हुम्लामा बजेट छैन । दैनिक ७० देखि ८५ जना विरामीहरू उपचारका लागि आउने गरेपनि उनीहरूका लागि चाहिने सिटामोल सिरफ, खोकीको सामान्य औषधी समेत अभाव देखिएको छ । आधारभुत औषधी नभएपछि इमर्जेन्सी, ओपिडी, ल्याब, फार्मेसी, एक्सरेमा पनि समस्या देखिएको छ ।