मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–३ का भूमिहीन मुसहर समुदायका २२ घर परिवारका १ सय ३६ व्यक्तिका लागि आवासको व्यवस्था मिलाउने गाउँपालिका अध्यक्षको प्रतिवद्धता ।

मुसहरी वस्तीमा साढे ३ कठठा जग्गामा २२ घरपरिवारका १ सय ३६ जना बसोवास गर्दै आएको छ । सयौं वर्षदेखि गाँउब्लकको जग्गामा बसोवास गर्दै आएका मुसहर समुदायका २२ घर परिवारले भोगचलनकै आधारमा बसोवास गर्दै आएका छन् । गाँउब्लकको जग्गा नापी कार्यालयद्वारा नापी भई रहेको भएपनि हालसम्म सो वस्तीको जग्गा नापी हुन नसकेको नापी कार्यालय धनुषाका अमिन दिलीप यादवले बताउनुभयो ।
वर्षौदेखि अव्यवस्थित तरिकाले बसोवास गर्दै आएका सो मुसहर वस्तीको चैत ९ गते खाद्य अधिकारको क्षेत्रमा क्रियाशिल फियान नेपालका प्रदेश संयोजक नन्दनी यादव, राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशका प्रमुख मञ्जु खतिवडा, अनौपचारिक क्षेत्र सेवा केन्द्रका (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान, राष्ट्रिय भूमि आयोग धनुषाका सदस्य रामकुमारी महतो, इन्सेक धनुषा जिल्ला प्रतिनिधी दिपेन्द्र प्रसाद सिंह, थर्ड एलायन्स मधेस प्रदेश संयोजक अर्जुन साह, जानकी महिला संजालका परियोजना संयोजक देवकुमार महतोलगायत संचारकर्मीहरूको टोलीले गाउँपालिका अध्यक्ष जयकुमार यादव र नापी कार्यालय धनुषाका अमिन दिलिप यादवको सहभागितामा अनुगमन गरेको छ । अनुगमनको क्रममा मुुसहर वस्तीका बासिन्दाहरू आर्थिक अभावसंगै सडकबाटो, बिजुलीबत्ति, खानेपानी, सरसफाई, भौतिक पूर्वाधार र एउटै कोठामा दर्जनौ व्यक्ति कष्टकर जीवनयापन गर्दै आएको छ ।
अनुगमन पश्चात्त मुखियापट्टी मुसहरनियाँ गाउँपालिका अध्यक्ष जयकुमार यादवले भुमिहिन मुुसहरहरुको अवस्था परिवर्तनका लागि वस्तीलाई एकिकृत टोल विस्तारको योजनमार्फत आफूहरूले गाउँपालिकाको सहयोगमा व्यवस्थित र सुविधा सम्पन्न भौतिक पूर्वाधारसहितको आवास बनाउन तयार रहेको प्रतिवद्धता जाहेर गर्नुभयो । उहाँले गाउँब्लकको जग्गा भएकाले नापी कार्यालयबाट नाप नक्सा गरि सम्बन्धित व्यक्तिहरूलाई लालपुर्जा दिएको खण्डमा आफूले आउँदो आर्थिक वर्षमा योजना र बजेट राखेर २२ घर परिवारलाई दुई कोठे पक्की भवन, शौचालय र खानेपानीको साथै बिजुलीबत्ती, सडकसहितको वस्ती निमार्ण गरि हस्तान्तर गरिने बताउनुभयो । भूमिहीन दलित (मुसहर) वस्तीका बासिन्दाहरूलाई आवासको व्यवस्था मिलाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।
गाउँब्लकको जग्गामा सम्भव नभए पालिकाले नेपाल सरकारको जग्गा लिजमा लिएर एकिकृत बस्ती निमार्ण गरि घर हस्तान्तरण गर्न समेत पालिका तयार रहेको बताउनुभयो । यसका लागि मुसहर बस्तीका बासिन्दाहरूले सहमति जनाएको खण्डमा पालिकाबाट भूमिहीनको आवासको लागि व्यवस्थापन गर्न आफू अग्रसर रहने बताउनुभयो ।
वस्ती अनुगमन गरेका मानव अधिकारर्मीहरूको टोलीले वर्षौदेखि बसोवास गर्दै आएका भूमिहीन मुसहर समुदायका व्यक्तिहरूले बसोवास गर्दै आएको गाउँब्लकको जग्गाको लालपुर्जा दिनु नापी कार्यालयका अमिन दिलिप यादवलाई नाप नक्सा गर्न र गाउँपालिकालाई आवश्यक सहयोग गर्न आग्रह गरेको इन्सेक प्रदेश संयोजक राजु पासवानले बताउनुभयो । मुसहर समुदायका व्यक्तिहरूको हातमा लालपुर्जा नरहेकै कारण शिक्षा, स्वास्थ्य, बिजुलीबत्तिलगायतको पक्की संरचना निमार्ण गर्न नपाएको राजकुमारी सादाले गुनासो गर्नुभयो । घर निर्माण मात्र होइन चापाकल समेत राख्न नपाउने भएकोले खानेपानी, शौचालयको समेत समस्या भएको लक्ष्मीनियाँ देवी सादाले गुनासो भयो । उहाँले आफूहरूलाई लालपुर्जा बनाई दिएर आफूहरूको अवस्था परिवर्तनका लागि आग्रह गर्नुभयो ।


