INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह कसूरमा साढे एक वर्ष कैद

१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसूरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२३ का २० वर्षीय फिरोज शेखलाई चैत ७ गते साढे १ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशले मानव बेचबिखन ओसारपसार शरिर बन्धक तथा बलात्कारको मुद्दालाई बालविवाहमा परिणत गर्दै सो फैसला सुनाएको अदालतले जनाएको छ । अदालतका अनुसार कसूरदारलाई १५ हजार रुपियाँ जरिवाना तिराउने र ५० हजार रुपियाँ पीडितका लागि क्षतिपूर्ति भराउने फैसला समेत भएको छ ।

आरोपितले २०७९ असार ३१ गतेदेखि मानव बेचबिखन ओसारपसारको प्रयासमा शरिर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०७९ साउन ५ गते उजुरी दिनुभएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरुपले साउन ५ गते उजुरी दर्ता गरेको थियो ।
घरबाट कम्प्युटर कक्षाका लागि कञ्चनरुप नगरपालिका–८ बेरियर चोकस्थित स्टार कम्प्युटर सेन्टर गएकी बालिकालाई ०७९ असार ३१ गते दिउँसो आरोपितले अपहरण गरी लोभ प्रलोभनमा पारी विभिन्न होटलमा राखी बलात्कार गरी विभिन्न ठाउँमा बन्धक बनाई गाडीमा चढाई भारत लगी बेचबिखन गर्न खोजेको पीडितका बुबाले बताउनु भएको थियो ।

विभिन्न होटलमा बस्दा राखिएको आरोपितको नागरिकता, मतदाता परिचय पत्रको प्रतिलिपी र मोबाइल नम्बरको आधारमा लोकेशन पत्ता लगाउँदै नेपालगञ्ज पुगेका पीडितका परिवारका सदस्यहरूले नेपाल भारत सीमा रुपैडिया बोर्डर पार गरी भारततर्फ लैजान लागेको बेला प्रहरीको सहयोगमा साउन ४ गते बालिका उद्धार गरी आरोपित नियन्त्रणमा लिइएको थियो ।

बाँके प्रहरीको सहयोगमा साउन ५ गते आरोपितलाई सप्तरी पठाए पछि थप अनुसन्धान भएको थियो । जिल्ला अदालतमा साउन २६ गते उजुरी दायर भएकोमा जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपित ०७९ साउन ३० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

सामाजिक सञ्जाल फेसबुक, टिकटकमा फिरोज शेखको आइडिबाट दुबैले टिकटक भिडिओ अपलोड गरेका छन् र दुबैले जबरजस्ती नभई आपसी सहमतिमा विवाह गरेको वयान दिएका छन् । उनीहरू सुनसरीको इटहरीस्थित होटल र सप्तरीको कञ्चनरुपस्थित एन्जिला होटलमा समेत वास बसेका थिए ।

अन्य

भिडियो