रेडियो धनगढी र धनगढी खबर डटकमका सम्वाददाता शेरबहादुर ऐरमाथि फागुन २७ गते अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।
पीडित पत्रकारीमाथि आक्रमण गरी घाइते बनाउने व्यक्तिहरुलाई गिरफ्तरा गरी कार्वाहीको माग गर्दै पीडित पक्षले फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् ।
सोसाइटी अफ इन्टरनेश्नल मेडिसिन अफ नेपाल (साइम) ले फागुन २७ गते धनगढीमा आयोजना गरेको सिकलसेल एनिमियाको सवालमा चिकित्सकहरुसँग आयोजना गरिएको छलफल कार्यक्रममा सहभागीे भएको र शौचालयमा जान लागेको समयमा अपरीचित व्यक्तिहरुले पछाडीबाट धारिलो वस्तु टाउँकोमा प्रहार गरी घाइने बनाएको पीडित पत्रकार ऐरले बताउनु भयो ।
विगत केही समयदेखि स्वास्थ्य क्षेत्रमा भइरहेका विकृतीका सन्दर्भका समाचार सम्प्रेषण गरेका कारण मेडिकल माफियाहरुले आफूमाथि आक्रमण गरेको हुन सक्ने पीडित पत्रकार ऐरको आरोप छ ।
सम्प्रेषण भएको समाचारप्रति चित्त नबुझेमा कानुनी प्रकृया हुँदाहुँदै पत्रकारको ज्यान मार्ने उद्देश्यले गरेको आक्रमण निन्दनीय भएकोले घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी कार्वाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानार्कषण गरेको पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष हिमाल जोशीले बताउनु भयो ।
पीडित पक्षबाट ठाडो निवेदन आएकाले घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी देवेन्द्र पाले बताउनु भयो ।
आक्रमणबाट टाउँकोमा गहिरो चोट लागेकाले फागुन २७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार गरी सोही दिन घर फर्केको पीडितले बताउनु भयो ।
घटनाको निन्दा तथा भत्र्सना गर्दै पत्रकार महासंघ, शाखा कार्यालय, कैलाली र रेडिओ धनगढीले फागुन २८ गते विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य गरी कार्वाहीको माग गरेको छ ।

