सैनामैना नगरपालिका–१० मा झारफुकको बहानामा कुटपिट गरी १४ वर्षीया बालिका सिता ज्ञवालीको हत्या गरेको आरोपमा प्रहरीले थप १६ जनालाई फागनु २७ गते गिरफ्तार गरेको छ ।
प्रहरीले यसअघि नै बालिकाको हत्या आरोपमा आफूलाई माता भन्ने सैनामैना नगरपालिका–१० बेम्तेनीकी २२ वर्षीया सोनिया रेश्मीलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ ।
घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र हालसम्म उक्त घटनामा सङ्लग्न १७ जनालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपक कुवरले बताउनु भयो ।
गिरफतार हुनेहरूमा सैनामैना नपा–१० बस्ने ४४ वर्षीय ताराप्रसाद ज्ञवाली, २७ वर्षीय इश्वरी पोखरेल, ५४ वर्षीया निमकला पाण्डे, ५८ वर्षीय मिनबहादुर रेश्मी, ५४ वर्षीया चन्द्रकली रेश्मी, ३३ वर्षीय उमेश थापा, ४९ वर्षीया कमला पोख्रेल, २२ वर्षीय विष्णुप्रसाद पोख्रेल, ५३ वर्षीय डोलनाथ गौतम, ४६ वर्षीय बालानन्द बेल्बासे, ३० वर्षीय दिनेश खनाल, ४५ वर्षीय डिलाराम घिमिरे, ५१ वर्षीय धनराज पोख्रेल, ५७ वर्षीय रामजीप्रसाद पाण्डे, ५५ वर्षीय शालिकराम बेल्बासे र पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका–७ का २३ वर्षीय कुमार सिंजाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा फागुन २१ गते महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउँछु भन्दै एक बालिकालाई भुइँमा लडाई घोप्टो पारेर कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो ।
माताले बालिकाको शरीरमाथि चढी घण्टी बजाउँदै गालामा थप्पड हान्ने, आइज, देखिस्, कति खान्छस्, मेरो पावर देखिस् भन्दै रुद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, भुइँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक पटक जगले नाकमुखमा पानी खन्याउने, कपालमा समसातेर टाउको बटार्ने गरेको देखिएको थियो ।
उक्त भिडियोका आधारमा प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको थियो । इलाका प्रहरी कार्यालय सालझण्डीले आरोपित मातालाई फागुन २२ गते गिरफ्तार गरेको थियो ।
मृतक परिवारले बालिका कान सम्बन्धी बिरामी भएको, पटक पटक अस्पताल परीक्षण गरी औषधि गर्दा पनि निको नभएपछि सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन भन्ने थाहा पाएर माताको घरमा लगेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनायो ।
बालिकाको फागुन २० गते राती साढे ९ बजे मृत्यु भएको र सोही दिन नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर अन्तिम संस्कार गरेको भन्ने खुल्न आएकोले सो विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनायो ।