सशस्त्र प्रहरीले युवाहरूलाई बिनाकारण कुटपिट गरेको पालुङटार नगरपालिका-१ खोप्लाङ वेल्टारका स्थानीयहरूले आरोप लगाएका छन् । जेठ २४ गते गस्तिमा गएका सशस्त्रका डिएसपी राजेन्द्र श्रेष्ठले बिनाकारण युवाहरूलाई कुटपिट गरेको स्थानीयहरूले आरोप लगाएका हुन् ।

कुटपिटबाट पालुङटार नगरपालिका-१ खोप्लाङका १६ वर्षीय मिलन श्रेष्ठ, १८ वर्षीय निर्मल राना, १८ वर्षीय विवेक लामा र १८ वर्षीय मनोज तामाङ सामान्य घाइते भएका छन् । अहिले उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बिना कारण युवाहरूलाई कुटपिट गरको भन्दै स्थानीयहरू आक्रोशित बनेका थिए । आफूहरू गफ गरेर बसिरहेको ठाउँमा आएर डिएसपीले कुटपिट गरेको घाइते मध्येका मिलनले बताए ।

स्थानीय युवाहरूले राति साँढे १० बजेसम्म सशस्त्रका डिएसपी श्रेष्ठ सहित गस्तिमा गएका प्रहरी र गाडी रोकेका थिए । सशस्त्र प्रहरीले भने सामान्य घटनालाई स्थानीयहरूले विवाद गरेको जनाएको छ । राति १० बजे घटनास्थल पुगेको जनपथ प्रहरी टोलीले घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै डिएसपी सशस्त्र प्रहरी र गाडी छुटाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए ।