INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार चौधरी माथि बोतल प्रहार तथा कुटपिट

एपिवान टेलिभिजनका महोत्तरी संवाददाता जलेश्वरका ३१ वर्षीय नविन चौधरीलाई फागुन २४ गते साँझ समाचार सङ्कलन गरी घर फर्किने क्रममा अपरिचित समूहले बियरको बोतल प्रहार गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।

होली पर्वको समाचार सङ्कलनका लागि जलेश्वर नगरपालिका–५ चौरीया पुगेका पत्रकार चौधरीलाई घर फर्किने क्रममा अपरिचित समूहले आक्रमण गरेको हो । घाइते चौधरीको धनुषा जिल्ला जनकपुरधाम स्थित जानकी हेल्थ केयरमा उपचारका लागि ल्याइएको थियो ।

जानकी हेल्थ केयर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेका चौधरीको थप उपचारको लागि फागुन २५ गते यति एयरलाइन्सको विमानबाट काठमाडौं लगिएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले जानकारी दिनु भयो ।

चौधरीलाई बियरको बोतलले टाउकोमा प्रहार गर्नुका साथै लात र चिरपटले प्रहार गरिएको छ । उहाँको टाउको, पिठ्युलगायत शरीरका विभिन्न अङ्गमा चोट लागेको अस्पतालले जनाएको छ ।

पीडित परिवारले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनु भएको छ । घटनामा संलग्न रहेको आशङ्कामा भारत बिहार मधुवनी जिल्लाका रञ्जित ठाकुरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले जानकारी दिनु भयो । उहाँले घटनाबारे छानवीन तथा घटनामा संलग्न अन्य आरोपितको खोजतलास जारी रहेको बताउनु भयो ।

 

अन्य

भिडियो