सिंजा गाउँपालिका–४ का ४० वर्षीया पदमकली बुढा लामो समयदेखि पाठेघर सङ्क्रमण रोगले ग्रसित हुनुहुन्छ । उहाँको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या छ । चेतनाको अभाव, घरको आर्थिक अवस्था कमजोर र परिवारसँग खुलेर भन्न नसकेरै उहाँ आफ्ना समस्या लुकाउन बाध्यतामा हुनुहुन्छ ।
आफ्नो स्वास्थ्य भन्दा घरको काममा बढी केन्द्रित हुँदा पाठेघरमा समस्या आएको पदमकलीले बताउनु भयो । उपचारको प्रतिक्षामा भएपनि आफ्नो समस्या कसैसँग नभनेको उहाँले भन्नु भयो ।
उहाँले भन्नुभयो, “ठुला अस्पतालमा पुगेर उपचार गर्न जचाउन आर्थिक अवस्थाले सम्भव छैन । त्यस्तै सिंजा गाउँपालिका–३ कै ३५ वर्षीया बसना सुनार पनि पाठेघर रोग सम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ । उहाँले भन्नुभयो, “स्वास्थ्य भन्दा काममा ध्यान दिए, सानैमा विवाह गरे, सानै उमेरमा बच्चा जन्माएर, बेलैमा आफ्ना समस्या भन्न नसकेर पाठेघरमा समस्या देखिएको छ । यी दुई महिला प्रतिनिधि पात्र मात्रै हुन् । उहाँ जस्ता ग्रामीण भेगमा धेरै महिलाको पाठेघर सम्वन्धी समस्या देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका स्त्रीरोग विशेषज्ञ चिकित्सक सुवि बस्नेतले बताउनु भयो । उहाँले भन्नुभयो प्रतिष्ठानले पनि बेला बेला पाठेघर रोग समस्या सम्बन्धी शिविर संचालन गर्ने गरेको छ । यस्ता शिविरमा धेरै महिलामा यस्ता समस्या देखिने गरेका छन् ।
सानै उमेरमा बच्चा नजन्माउने, चेतना अभिवृद्धि, कार्यबोझ न्यूनीकरण तथा स्वास्थ्य सुरक्षा स्वयम महिलाले ख्याल गर्ने र परिवारका सदस्यले साथ दिएको खण्डमा पाठेघर खस्ने समस्याबाट मुक्त हुने उहाँले बताउनु भयो ।
सिंजा गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश धितालका अनुसार ग्रामीण भेगमा रहेका महिलामा देखिएका पाठेघर रोग सम्वन्धी शिविर सञ्चालन गर्ने गरेको छौँ । उहाँले भन्नुभयो यसै हप्ता शिविर सञ्चालन गरेर ३ सय २७ महिलाको पाठेघर परीक्षण गरिएको छ । चार जना महिलाको पाठेघर शल्यक्रिया गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेका छौँ । ५७ जना महिलालाई पाठेघर खस्न नदिन रिङ प्रेसर राखिएको छ ।
