INSEC Online

📅 २०८३ जेष्ठ २१

अभिभावक विहीन बालबालिकाको पठनपाठनका लागि इन्सेकको पहल

पञ्चपुरी नपा–३ साल्कोटका अभिभावक बिहीन दुई जना बालबालिकाको नियमित पठनपाठनका लागि इन्सेकले पालिकाका नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत लगायतका सरोकारवालासँग पहल गरेको छ ।

आमाको हत्या, बाबु जेलमा गएपछि अभिभावक बिहीन भएका ११ वर्षीय बालक र आठ वर्षीया बालिकाको नियमित पठनपाठनका लागि इन्सेकले पहल गरेको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनु भएको हो ।

पञ्चपुरी नगरपालिकका प्रमुख लालवीर भण्डारीले कार्यविधि बनाएर जोखिमपूर्ण बालबालिकाकाको उचित संरक्षण र स्याहारको योजना ल्याउन लागिएको जनाउनुभयो । बालबालिकाको उचित पठनपाठनका लागि एसओएस, कोपिला भ्याली लगायतका निकायमा आवश्यक पहल गर्ने पञ्चपुरी नपाका उपमेयर मुक्तिदेवि रेग्मीले आश्वासन दिनुभयो ।

बाबु आमा नभएका दुबै जना बालबालिका हाल ७८ वर्षीय हजुर आमा भविसरा आलेको भरमा रहेका छन् ।
इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, इन्सेकका फोकल पर्सन दुर्गा थापा, मानव अधिकार रक्षक सञ्जालका प्रदेश संयोजक पीताम्बर ढकाल, नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतका अध्यक्ष ललित बसेल, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सचिव ललितबहादुर बुढा, प्रदेश स्तरीय मानव अधिकार समुहका संयोजक पदम सार्कीसहितको टोलीले बालबालिकाको शिक्षा, स्वास्थ्य र आश्रित परिवारको अवस्था लगायतको विषयमा पुस १८ गते स्थलगत अनुगमन गरेको थियो ।
स्थलगत अनुगमन पश्चात अनुगमन टोलीले बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतको विषयमा पालिकाका नगरप्रमुख, उपप्रमुख लगायतका टोलीसँग पहल गरेको थियो ।

तोक्माका अमर आले मगरले पत्नी मीना आले मगरलाई ०७९ मङ्सिर २० गते धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
उनीहरुका दुई जना छोराछोरी रहेका छन् । गाउँ नजिकैको नेपाल राष्ट्रिय प्रावि तोक्मामा छोरा कक्षा ४ मा छोरी कक्षा ३ मा अध्यनरत रहेका छन् । आमा बाबु नभएका दुई दाजु बहिनीको जीवनयापन निकै कष्टकर रहेको छ । हजुरआमा भविसराले पाउने वृद्धभत्ताबाट उनीहरूको पालनपोषण चलेको छ । हजुरआमा भविसरा पनि कान्छा छोरा बुहारीकोमा बस्नुहुन्छ । हजुरआमा भविसराले यी अबोध बालबालिकाको विचल्ली भएकोमा दुःख पोख्नुुहुन्छ । कान कम सुन्ने भविसराले बालबालिकाको उच्च शिक्षा तथा लालनपालन गर्न धौ—धौ भएको बताउनुभयो । तीन÷चार महिनाको फरकमा पाउने बृद्धभत्ताबाट उनीहरूलाई लताकपडा लगायत कापी कलम किनिदिने गरेको उहाँको भनाई छ ।

विद्यालयमा दुबै दाजु बहिनीको पढाई राम्रो छ । विद्यालयका शिक्षक गौरी कुमारी आचार्यले बालिकालाई विद्यालयले छात्रवृत्ति दिने गरेको बाहेक अन्य कुनै सहयोग नभएको बताउनुभयो । उहाँले दुवैजनाको पढाई राम्रो भएको बताउँदै बाबुआमा नभएपछि उनीहरुको पढाई बीचमै रोकिने हो की भन्ने चिन्ता बढेको जनाउनुभयो । आमाको हत्या र बाबु जेल गएपछि ती बालबालिकाको बालमनोविज्ञानमा निकै फरक आएको उहाँको भनाइ छ । ती बालबालिकाको पढाई तथा लालनपालनमा कुनै सहयोगी निकायको खाँचो रहेको उहाँले बताउनुभयो । दुबै दाजु बहिनी कक्षामा पनि लगनशिल र नियमित उपस्थित हुने गरेको शिक्षिका आचार्यको भनाई छ ।

नाति नातिनासहित हजुरआमा भविसरा अहिले कान्छी बुहारी मनिसरासँग बस्नुहुन्छ । मनिसरालाई पनि सबैको गर्जो टार्न गाह्रो छ । मनिसराका पति बैदेशिक रोजगारमा हुनुहुन्छ । उहाँले अहिले आफ्ना दुई सन्तानसहित सासु भविसरा, दिनेश र देविका तथा साइला जेठाजुका दुई सन्तान पनि पाल्नु परेको छ । सबै जनालाई एकै पटक पाल्नुपर्दा अभिभावक बिहीन दाजु बहिनीले उचित स्याहार तथा पढाईमा राम्रो वातावरण पाउननसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, आमाको हत्या भएपछि बाबु जेल जाँदा उनीहरु मसँग बसे, उनीहरुलाई पनि पाल्नु प¥यो ।

उनीहरू बस्ने घरमा आमाको हत्या भएपछि घरमा कोही बस्दैनन । घरमा बालबालिका पनि जाँदैनन् । मनिसराका अनुसार उक्त घरमा कोही नबस्दा सुनसान छ । घटना लगत्तै केही संघसंस्थाले सामान्य राहत दिएपनि उनीहरूले अहिलेसम्म अन्य सहयोग पाउन सकेका छैनन् । बालबालिकालाई उचित लालनपालन र शिक्षादीक्षामा सहयोगको खाँचो छ । उनीहरुको अवस्थाको अनुगमन गर्न इन्सेक तथा मानव अधिकार रक्षक संजालको टोली घरमै पुगेको थियो ।

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले गरिवीका कारण बालबालिकाको उचित शिक्षा पाउने र सहज जीवनयापनमा समस्या भएको बताउनुभयो । उहाँले बालबालिकाको शिक्षादीक्षा र लालनपालनकालागि सहयोगी निकायले पहल गर्नुपर्ने सुझाव दिनुभयो । मानव अधिकार रक्षक संजालका प्रदेश अध्यक्ष पीताम्बर ढकालले स्थानीय सरकारले जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको संरक्षण तथा राहतका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

अनुगमन टोलीले बालबालिकाको संरक्षण र शिक्षाको जिम्मा पालिकाले लिन अनुरोध गरेको इन्सेकका फोकल पर्सन दुर्गा थापाले बताउनुभयो ।

अन्य

भिडियो