१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा दैलेख जिल्ला अदालतले चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ लैनचौरका ४१ वर्षीय केशव सुजीलाई तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिबाना गरेको छ ।
न्यायाधीश बलराम लम्सालको इजलासबाट फागुन १६ गते उक्त फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
पीडित पक्षको उजुरी, प्रहरी अनुसन्धान र जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गराएको अभियोगमा बलात्कार मुद्दा आएकोमा पीडितले बयान परिवर्तन गरेपनि मिसिलमा संलग्न कागज प्रमाणले ‘बाल यौन दुर्व्यवहार भएको देखिन्छ’ फैसलामा उल्लेख छ ।
०७७ कात्तिक २२ गते राति बालिकाको घरमा गई बलात्कार गरेको भन्दै स्थानीयले ओछ्यानकै फोटो घटना लगतै प्रहरीलाई फेसबुक मेसेञ्जरमा पठाए लगतै प्रहरीले केशवलाई त्यति नै बेला गिरफ्तार गरेको थियो ।
पीडित पक्षले कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको थियो । बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २३ गते नै दैलेख जिल्ला अस्पतालमा भएको थियो ।
घटनाको सम्बन्धमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ०७८ मङ्सिर १९ गते दैलेख जिल्ला अदालतमा दर्ता गराएको थियो ।
अभियोग सम्बन्धमा मङ्सिर २० गते भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश अनुसार कसूरदारलाई दैलेख कारागारमा राखिएको थियो ।
उजुरीमा लेखाइएको व्यहोरा विपरित पीडितले आफूलाई ‘बलात्कार भएको होइन’ भनी अदालतमा वकपत्र गरेकी भए पनि उजुरी अघि प्रहरीलाई प्राप्त ओछ्यानमा दुवै जना प्रष्ट देखिएको फोटोले बाल यौन दुर्व्यवहारमा परिणत भएको अदालतका सूचना अधिकारी नासु न्यौपानेले जानकारी दिनुभयो ।
पीडित होष्टाइल भएपनि मिसिलमा संलग्न फोटोले यौन दुर्व्यवहार देखिएको भन्दै तीन वर्ष कैद तोकिंदा थुनामा बसेको १६ महिना पुगेको र अब २० महिना कारागारमा बस्नुपर्नेछ । लागूऔषध, चोरी, मानव बेचबिखन र यौनजन्य अपराध सजायमा सजाय मिनाह गर्न नपाइने कानुनी व्यवस्था छ ।