राष्ट्रिय जनता पार्टी नेपाल राजविराज नगरपालिका जनआन्दोलन कमिटिले जेठ २३ गते नेकपा (एमाले) को कार्यक्रमको विरोध गर्नेसहितको स्थानीय तहको निर्वाचन बिथोल्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

राजविराजस्थित पबि माविको मैदानमा बसेको जनआन्दोलन कमिटीको बैठकले नेकपा (एमाले) ले जिल्लामा गर्ने हरेक कार्यक्रमको विरोध गर्नेदेखि विरोध सभा, चक्काजामसहितको कार्यक्रम गर्ने निर्णय गरेको छ ।
राजविराज नपा-१ स्थित बिरौल चोकमा जेठ २४ गते विरोध सभा, सदरमुकामसहित राजमार्गमा जेठ २५ गते दुई घण्टा चक्काजाम र राजविराजको महादेव मन्दिर अगाडि जेठ २६ गते कोणसभा गर्ने कमिटीले निर्णय गरेको संयोजक मण्डलका सदस्य लक्ष्मण यादवले जानकारी दिए ।
विगत लामो समयदेखि संविधान संशोधनका लागि आन्दोलनरत राजपा नेपालले संविधान संशोधनको मुख्य बाधक एमाले रहेको भन्दै उसको कार्यक्रमको विरोध गर्ने कार्यक्रम बनाएको यादवले बताए । संविधान संशोधनको विषयमा एमालेले लचकता नदेखाएसम्म हरेक कार्यक्रमको विरोध गर्ने राजपाका नेता दिपेन्द्र चौधरीले बताए ।
संविधान संशोधन बिना राजपा नेपालले स्थानीय तह निर्वाचनमा भाग नलिने जनाउँदै एमालेले गर्ने कुनै पनि कार्यक्रमको क्रममा क्षति भए सोको जिम्मेवारी स्वयम् एमालेले नै लिनुपर्ने चौधरीको भनाइ छ ।