INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल प्रहरीद्वारा ८६ ओटा इकाईमा दलित सेल गठन

नेपाल प्रहरीले देशभर ८६ ओटा इकाईमा दलित सेल गठन गरेको छ । प्रहरीले केन्द्रीय कार्यालय, प्रदेश र ७७ ओटा जिल्लास्थित प्रहरी कार्यालयहरूमा दलित सेल गठन गरी सञ्चालनमा ल्याएको हो ।

प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले ०७७ जेठ २० गते गृहमन्त्रालयलाई पत्र लेख्दै मुलुक छुवाछुतमुक्त घोषणा भएको डेढ दशक बित्दा पनि नेपाली समाजमा जातकै आधारमा हुने छुवाछुत र भेदभावको श्रृंखला नरोकिएको भन्दै दलित समुदाय माथि हुने विभेदका घटनामा छुट्टै दलित प्रहरीको सेल निर्माण गरी दलित समुदायमाथि हुने घटनामा छानबिन गर्न निर्देशन दिएको थियो ।

जातीय विभेदका कारण हुने घटनालाई संवेदनशील ढङ्गबाट अध्ययन अनुसन्धान गर्न र दोषिलाई कडा कारबाही गर्नका लागि संसदीय समितिको निर्देशन अनुसार दलित सेल गठन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।

पोखरेलका अनुसार जातीय विभेदकै कारण समाजमा विभिन्न किसिमका हिंसात्मक घटनाहरू बढ्न थालेको र यसले समाजलाई विसङ्गति विकृतितर्फ धकेलेकाले त्यसको अन्त्य गर्नका लागि नेपाल प्रहरी भित्र पहिलेदेखि रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रसँगै रहने गरी दलित सेल गठन गरेको हो ।

प्रहरी प्रधान कार्यालयले एक डिएसपीसहित ८ सय २ जना प्रहरी कर्मचारीलाई विभिन्न निकाय मातहतबाट तालिम दिएर दलित सेलमा खटाएको पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलका अनुसार प्राशिक्षणमा दलित समुदायसँग सम्बन्धित विद्यमान कानुनी व्यवस्था, दलित सेलको काम कर्तव्यहरू, दलित समुदायमाथि हुन सक्ने अपराध, विभेद र यसका स्वरूपहरू, प्रहरीले दलित समुदायलाई व्यवहार गर्दा ख्याल गर्नुपर्ने कुराहरू लगायत विषय सम्मिलित थिए ।

अन्य

भिडियो