१६ विषेशज्ञ सहित ६ मेडिकल अधिकृतको दरबन्दी रहेको बागलुङको धौलागिरी अस्पतालमा चिकित्सक अभाव भएको कारण स्वास्थ्य सेवा प्रभावित भई सेवागा्रही समस्यामा परेका छन् । २३ जना चिकित्सको दरबन्दी रहेको अस्पतालमा अहिले २ जना चिकित्सक मात्र कार्यरत छन् ।
अस्पतालमा मेडिकल सुपरीटेण्डेन्टको दरबन्दी रहेपनि अहिले पद रित्त रहेको छ । यतिबेला अस्पतालमा निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. अमित ढुङ्गाना र फिजिशियन डा.अभिशेष वाग्ले मात्र कार्यरत हुनुहुन्छ ।
दरबन्दी अनुसारका चिकित्सक नभएपनि छात्रवृत्ति र करकारका चिकित्सकको सहयोगमा स्वास्थ्य सेवा दिइरहेको अस्पतालमा यतिबेला छात्रावृति र करारका डाक्टर पनि घटेका छन् । केहि समय पहिले छात्रवृत्तिका ११ डाक्टर थिए, अहिले ५ जनामात्र छन् ।
चिकित्सकको अभाव हुँदा डेढ महिना देखि अस्पतालको अत्यावश्यक प्रसुती सेवा प्रभावित बनेको छ । अस्पतालमा डाक्टर नभएकोले नर्मल डेलिभरी नभए रिफर गर्नुपर्ने बताएपछि डेलिभरी हुने अन्तिम समयमा पोखरा गएको सेवागा्रही मनिसा जिसीले बताउनुभयो । विशेषज्ञ डाक्टर नहुँदा समस्या आउन सक्छ भनेर अस्पतालले विरामीलाई पोखरा सिफारिस गर्ने गरेको छ ।
प्रसुती विभाग मात्रै हैन, चिकित्सक अभावमा बालरोग विभाग, नाक कान तथा घाँटी रोग विभाग र छाला रोग विभाग पनि यतिबेला बन्द अवस्थामा छ ।
अस्पतालमा अहिले चिकित्सक अभावमा ओपीडि देखि इमरजेन्सी तथा आइसियु सम्मकोे सेवालाई प्रत्यक्ष प्रभाव पारेको धौलागिरी अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.अमित ढुङ्गानाले बताउनुभयो ।
तत्कालको लागि स्त्रीरोग विशेषज्ञ र बाल रोग विशेषज्ञ सहित केही मेडिकल अधिकृतको आवश्यकता रहेको ढुङ्गानाको भनाई छ । ‘चिकित्सक अभाव भएपनि सेवा नरोकियोस भन्नेमा सचेत छौ,’ ढुङ्गाना भन्नुहुन्छ, ‘तर प्रसुती विभाग, बालरोग तथा नाँक कान घाँटीरोग विभाग सञ्चालनमा निकै कठिनाई आएको छ ।’
‘छात्रवृत्तिका डाक्टरहरुको भरमा चल्दै आएको अस्पतालमा लामो समयदेखि दरबन्दीका डाक्टर आउन सकेका छैनन्, छात्रवृत्तिका डाक्टरहरूको समयावधी सकिएपछि फर्कनु हुन्छ, ढुङ्गानाले भन्नुभयो ‘कोरोना कहरमा थपिएका करारका डाक्टरहरूको करार नविकरण भएन, दरबन्दीका चारजना मेडिकल अधिकृतहरु अध्ययन बिदामा हुनुहुन्छ ।’
डा.ढुङ्गानाले तत्कालै चार विशेषज्ञ र चार मेडिकल अधिकृत नभएसम्म अस्पतालका सबै विभाग सञ्चालन गर्न कठिनाई हुने बताउनुभयो ।
‘अहिले अस्पतालमा सघन उपचार कक्ष, बाल सघन उपचार कक्ष लगायत मानसिक रोग विभाग सहित धेरै सेवा थपिएका छन्,’ अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले भन्नुभयो ‘दरबन्दी अनुसारका मात्रैले समेत नथेग्ने अस्पतालमा अहिले चिकित्सकको चरम अभाव छ ।’
दैनिक ओपिडी शाखामा मात्रै ४०० बिरामी आउछन्, अस्पतालको भौतिक पूर्वाधार समेत धेरै बन्यो, तर अस्पतालमा दरबन्दीका चिकित्सक ल्याउनै नसकिएको न्यूरेको भनाई छ ।
न्यूरेका अनुसार चिकित्सकको समस्याका विषयमा स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेश सरकारलाई समेत पत्र पठाइसकेको छ । छात्रावृत्तिका डाक्टरहरू समयावधी पुगेर फर्कनु र दरबन्दीका डाक्टर अध्ययन बिदामा बस्दा अस्पताल दोहोरो समस्यामा परेको छ ।