२१ वर्षीया महिलासँग विवाहका लागि दाइजो मागी विवाह मण्डपबाटै भागेका बोदे बर्साइन नगरपालिका–४ सिलहटका ४८ वर्षीय शम्भु सदा र उनका छोरा २३ वर्षीय श्रवण सदाविरुद्धको वैवाहिक लेनदेनको मुद्दा फागुन ११ गते मुल्तबीमा राख्ने अन्तिम आदेश भएको छ ।
जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले मुद्दा मुल्तबीमा राखेको अदालतका सूचना अधिकारी भरत पोखरेलले बताउनु भयो । बोदे बर्साइन नगरपालिका–४ बाट ०७६ फागुन २९ गते जन्तीसहित बेहुला पीडितको घर आएका थिए । विवाह मण्डपमा बसेर वैवाहिक कार्यक्रम सुरु हुन थालेपछि विवाह रोकेर दाइजो मागेको र विवाह नगरी मण्डपबाटै बेहुला र उनका बुवा भागेको पीडितका बुबाले बताउनु भयो ।
विवाहको कुरा छिनोफानो गर्दा दाइजोको कुरा नभए पनि विवाह मण्डपमा बसेपछि दाइजो मागेको पीडितका बुवाले बताउनु भयो । विवाह छिनोफानो गर्दा बेहुलालाई उपहारस्वरुप दिएको आधा तोला सुनको गहनासहित विवाहको तयारीका लागि व्यवस्था गरिएको टेन्ट, साउण्ड सिस्टम, बाजा, खाना, दराज पलङ, कपडासमेत गरी ४ लाख ४ हजार रुपियाँको क्षतिपूर्ति दिलाइ भराइ पाउन पीडितका बुवाले ०७६ चैत १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
प्रहरीले आरोपित शम्भुलाई ०७६ चैत १ गते गिरफ्तार गरेको थियो । कोभिड १९ को संक्रमणको जोखिम बढेर प्रतिकुल परिस्थिती सृजना भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयको ०७६ चैत १० गतेको पत्र साथ सहमति प्राप्त भएपछि आरोपित शम्भु निजकी पत्नी दशनीदेबी सदाको जिम्मा जमानीमा सोही दिन रिहा भएका थिए । खोजेका बेला उपस्थित हुने, गराउने शर्त गरेपनि आरोपित बेपत्ता भएपछि मुद्दा मुल्तबीमा राखिएको हो ।