भारतीय सीमा सुरक्षा बलद्वारा बेपत्ता बनाइएका बर्दियाका हर्कबहादुरको अवस्था अझै अज्ञात रहेको छ ।
बर्दिया जिल्ला बढैयाताल गाउँपालिका शान्तिपुर (साविकको जमुनी गाविस–९)का ५० वर्षीय हर्कबहादुर शाहीलाई २०६७ साल फागुन ५ गते भारतीय सशस्त्र सीमा बल ( एसएसबी) ले नेपाल प्रवेश गरी ( झण्डै ३ सय मिटर नेपाल भित्रबाट ) शिकारीको आरोपमा नियन्त्रणमा लिई हालसम्म बेपत्ता बनाएको घटनाका सन्दर्भमा फागुन ८ गते इन्सेक र कान्तिपुर टेलिभिजनका नेपालगञ्ज सम्वाददाता जे पाण्डेले पीडित परिवारसँग उनको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
पीडित भारतीय सिमावर्ती बजार बलैगाउँमा किनमेल गरी घर फर्किदै गर्दा नेपाल सिमा क्षेत्रमा प्रवेश गरी भारतीय सुरक्षा फौजले नियन्त्रणमा लिएका थिए । उक्त घटना नेपाल मानव अधिकार वर्ष पुस्तक २०१२ मा समेत उल्लेख गरिएको छ ।
त्यसबेला इन्सेकलगायत विभिन्न मानव अधिकारकर्मीहरूको टोलीले घटनाको अध्ययन गरी पीडितको न्यायकालागि राज्यका विभिन्न निकायहरूमा पहल समेत गरेका थिए । तर हालसम्म पनि पीडित परिवारले न न्याय पाउन सकेका छन् न कुनै राहत नै पाएका छन् ।
हर्क बहादुरकी कान्छी बुहारी तुल्सी शाहीले हालसम्म राज्यबाट न न्याय पाइयो न कुनै राजनीतिक दललेनै सहयोग गरेको गुनासो गर्नु भयो । उहाँले न्यायकालागि पहल गरिदिन इन्सेक र पत्रकारहरूलाई समेत अनुरोध गर्नु भयो ।
यसैगरी, बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ का राममिलन लोधलाई पनि भारतीय सुरक्षाकर्मीहरूले कब्जामा लिई बेपत्ता बनाएको वर्षौ भयो । उनको पनि हालसम्म लास र सासबारे परिवारजन अनभिज्ञ छन् ।
भारतीय सिमावर्ती जिल्लाहरूमा विभिन्न समयमा नेपाली नागरिकहरूले विभिन्न बहानामा दुःख पाउने गरेको र भारतीय सुरक्षाकर्मीहरूबाट असुरक्षा बढदो रहेको कुरा उक्त प्रतिनिधि मूलक घटनाहरूले पुष्टि गरेका छन् ।
माथि उल्लेखित दुबै घटनाका सन्र्दभमा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत र कान्तिपुरका जे पाण्डेले स्थलगत भ्रमण गरी पीडित परिवारजनहरूका गुनासाहरू सुन्ने काम गर्नु भएको छ ।
