सन् २०२२ मा लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन ज्यादतीका घटनामा २ हजार ८४ जना पीडित भएको जनाइएको छ ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा सन् २०२२ मा लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था विषय पत्रकार भेटघाट कार्यक्रममा बोल्दै इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले उक्त तथ्यांक प्रस्तुत गर्नु भएको हो ।
सन् २०२२ मा अपहरण १५ जना, गिरफ्तार ६ जना, कुटपिटबाट ३२ जना, बाल अधिकारमा २ सय ४२ जना, हिरासतमा मृत्यु दुई जना, अमानवीय व्यवहारबाट पाँच जना, घाइते ५९ जना, हत्या ४० जना, जातीय विभेद सात जना, अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकार ४८ जना, धम्की तीन जना, महिला अधिकारमा १ हजार ६ सय २३ जना, कारागारमा मृत्यु एक जना र बेपत्ता एक जना गरी २ हजार ८४ जना पीडित भएको तथ्यांक प्रस्तुत गर्नु भएको छ ।
सात प्रदेश मध्ये लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटना भएको बताउदै संयोजक महतले महिला तथा बालबालिका बढी प्रभावित रहेको बताउनु भयो ।
यस्तै जातीयताको हिसाबमा दलित, जनजाति बढी प्रभावित रहेको र पेशागत हिसाबमा विद्यार्थी ,गृहणी महिला र पत्रकार बढी जोखिममा रहेको तथ्यांकले देखाएको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जकी प्रमुख द्वारिका अधिकारीले निर्वाचनमा महिला सहभागीता प्राथमिकतामा नपर्नु , महिला तथा बालबालिका हिंसाको प्रभाव बढी परेको प्रति चिन्ता व्यक्त गर्नु भएको थियो ।
पत्रकार कमल डाँगीले राजनितिक हस्तक्षेपका कारण पत्रकारहरू स्वतन्त्रता पुर्वक काम गर्न नपाएको अवस्था रहेकोले लोकतन्त्रको मर्म अनुसार काम हुन नसकेको धारण राख्नुभयो ।
यसैगरी, लुम्बिनी प्रदेशमा उत्कृष्ट जिल्ला प्रतिनिधिकारुपमा इन्सेक रूपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीलाई घोषणा गरिएको थियो ।