INSEC Online

📅 २०८३ जेष्ठ २१

घटना अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिन अधिकारकर्मीको माग

माडी नगरपालिका-६ रामराज्यपुरका १० वर्षीया दिपिका सुनार र ११ वर्षीया दिपशिला परियारको मृत्यु भएको घटनको अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिन अधिकार्मीहरूले जेठ २१ गते विज्ञप्तिमार्फत माग गरेका छन् ।

माडी नगरपालिका-६ रामराज्यपुर स्थित मजुवा सिञ्चाइ पोखरीमा जेठ २० गते बिहान १०:०० पिकनिकका लागि घरबाट गएका बालबालिकाहरू मध्ये ती दुई बालिकाको रहस्यम तरिकाले हत्या भएको पीडित पक्षको आरोप छ ।

योनीबाट रगत आएको, शरीरका अन्य भागमा पनि रगत लागेको र आँखाको माथिल्लो भागमा चोटपटक देखिएकाले ती दुई बालिकाको बलात्कारपछि हत्या गरेर फालेको हुन सक्ने अधिकारकर्मीहरूको अनुमान छ ।

दिउँसो १:०० बजेको समयमा पोखरीमा फेला परेकोमा एक जनाको माडीकै बघौडा अस्पताल र अर्की बालिकाको चितवन मेडिकल कलेजमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक थापाले बताए ।

१२ जनाको समूहमा रहेका बालबालिकाहरूमध्ये दुई जना बालिका लामो समयसम्म हराएपछि खोज्दै जाँदा पोखरीमा फेला परेको मृतक दिपशिलाका काका समशेर परियारले बताए । परिवारले २१ गते साँझसम्म किटानी उजुरी दिएको छैन ।

घटनामा संलग्न भएको आरोपमा माडी प्रहरीले दुई जना युवकलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जनाएको छ । पिकनिकमा सँगै गएका स्थानीय नवदुर्गा प्राविका बालबालिकाहरू हुन् । बालबालिकाहरूसँग समेत सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।

‘बालिकाहरूको शारीरिक अवस्था र त्यहाँको तत्कालीन परिस्थिति बुझ्दा कोही कसैले अपराधिक घटना गराई पोखरीमा फालेको हुन सक्ने आशङ्का हामीले गरेका छौँ’-जिल्ला प्रहरी कार्यालयका एसपी थापाले भने-‘पोस्टमार्टम रिपोर्ट आएपछि सबै थाहा हुन्छ ।’

अन्य

भिडियो