INSEC Online

📅 २०८३ जेष्ठ २१

नयाँ शैक्षिक सत्र सुरु : पाठ्यपुस्तक पुगेन, सरोकारवाला निकाय बेखबर

देशभरका हिमाली जिल्लामा फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्दछ । मङ्सिरको अन्तिम सातासम्म वार्षिक परीक्षा लिएर शैक्षिक सत्र सम्पन्न हुने गर्दछ ।

कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा नयाँ शैक्षिक सत्र सुरु भई सकेको छ । तर पाठ्यपुस्तक भने पुगेको छैन । पाठ्यपुस्तक नपुगेको यो वर्ष मात्रै होइन । हरेक वर्ष शैक्षिक सत्र सुरु भएको २÷३ महिनापछि मात्रै पाठ्यपुस्तक आउने गरेको विद्यार्थीले सधै गुनासो गर्दै आएका छन् ।
पाठ्यपुस्तक समयमा विद्यार्थीको हातमा पुग्न नसकेको गुनासो गुनासोमै सिमित हुन्छन् । सरोकारवाला निकायले सुनुवाई गर्ने गरेका छैन् । सामुदायिक विद्यालयमा  ४० हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

समयमा पाठ्यपुस्तक विद्यार्थीको हातमा नपर्दा पठनपाठनमा समस्या भएको पातारासी गाउँपालिका – ७ रिनी गाउँस्थित सरस्वती माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा सरिता रोकायाले बताउनु भयो । उहाँले भन्नुभयो हरेक वर्ष यस्तै समस्या भोग्नु परेको छ । तर सरोकारवाला निकाय सधै झै बेखबर हुन्छन् ।

जुम्लाको सिंजा भेगमा पाठ्यपुस्तक विक्रेता दिपेन्द्र उपाध्यायका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुर्खेतले दिन मानेको छैन । केन्द्रीय कार्यालयबाट विक्रीको अनुमति नआएकोले जनक शिक्षा सामग्री सुर्खेतले पाठ्यपुस्तक नदिएको उहाँले बताउनु भयो ।

जुम्लामा नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि जनक शिक्षा सामग्री सुर्खेतले पाठ्यपुस्तक दिन नमानेको लामो समयदेखि जुम्लामा पाठ्यपुस्तक विक्रीवितरण गर्दै आएका जिपी स्टेशनरीका प्रोपाईटर गणेश रोकायाले बताउनु भयो । उहाँले भन्नुभयो फागुन पहिलो सातामै पाठ्यपुस्तक जुम्लामा पुग्नु पर्ने हो । हामीले पनि पाठ्यपुस्तक ल्याउन प्रयास गरेका हौँ तर जनक शिक्षा सामग्रीले दिन मानेको छैन ।

शिक्षा समन्वय इकाई जुम्लाका विद्यालय निरीक्षक मानबहादुर कुमालका अनुसार हिमाली जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु भईसकेको छ । तर शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले देशभर बैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने सार्वजनिक सुचना जारी गरेको छ । यसले गर्दा हिमाली जिल्लाका विद्यार्थी प्रभावित हुने भएका छन् ।

उहाँले भन्नुभयोे यता स्कूल खुलीसकेका छन् । तर पाठ्यपुस्तक समयमा आउने देखिदैन । मन्त्रालयको बैशाखदेखि शैक्षिक सत्र सुरु हुने सूचनाका विषयमा संसदमा जुम्लाका सांसदलाई आवाज उठाउन लगाउने समन्वय भईरहेको छ । जुम्ला लगायत हिमाली जिल्लामा फागुनदेखि शैक्षिक सत्र सुरु भईसकेकोले पाठ्यपुस्तक समयमा नआउदा समस्या हुने देखिएको छ ।

अन्य

भिडियो