INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयले हाजिर नगराएको भन्दै दृष्टि बिहिन शिक्षकद्धारा जिल्ला प्रशासनमा उजुरी

काजमा सरूवा भएर गएको विद्यालयले दुई महिनादेखि हाजिर गर्न नदिएपछि समस्यामा परेको भन्दै बागलुङ नगरपालिका–३ रात्माटाका ३१ वर्षीय विकल थापाले जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिनुभएको छ ।

०७५ सालदेखि रामरेखा आधारभूत विद्यालयमा राहत दरबन्दी अन्र्तगत विशेष दरबन्दी (दृष्टिविहिन) कोटामा प्रावि तहमा अध्यापन गराईराख्नुभएका थापा ०७९ पुस ६ गते विद्यामन्दिर माध्यामिक विद्यालयमा काजमा सरूवा हुनुभएको थियो ।

भौगोलिक रूपमा रामरेखा आधारभूत विद्यालयमा अध्यापन गर्न जाँदा समस्या भएको भन्दै बागलुङ नगर शिक्षामा दिएको निवेदन अनुसार नगर शिक्षा समितिले २०७९ पुष ६ गते थापालाई विद्यामन्दिर माध्यामिक विद्यालयमा सरूवा दिएको थियो ।

सरूवाको पत्र लगेर ६ गते नै विद्यामन्दिर माध्यामिक विद्यालय पुग्नुभएका दृष्टिविहिन शिक्षक थापालाई विद्यालयले आजसम्म हाजिर गराएको छैन ।

दृष्टिविहीन थापाले विद्यालयले दुई महिना देखि हाजिर नगराउदा आफु मानसिक रूपमा समेत समस्यामा पर्न थालेको भन्दै ०७९ फागुन ३ गते  जिल्ला प्रशासन कार्यालय बागलुङमा निवेदन दिनुभएको हो ।

थापाको निवेदन पछि जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल सहितको टिमले दुवै पक्ष विच छलफल गराएको थियो ।

छलफलको क्रममा विद्यालयमा दृष्टि बिहिन शिक्षकको दबन्दी नभएकाले हाजिर गर्न नसकिएको विद्यामन्दिर माध्यामिक विद्यालयका प्रधानध्यापक शान्तामणी ढकालले बताउनुभयो ।

प्रधानध्यापक ढकालले बरू राजिनामा दिन्छु हाजिर गराउन सक्दिन भन्नुभयो । सहायक प्रजिअ पौडेलले भन्नुभयो, ‘थापालाई विद्यालयमा हाजिर गराउनको लागि कहाँ समस्या आयो भनेर राखेको छलफलबाट प्रधानध्यापक उठेर हिड्नुभयो, नगरपालिका र शिक्षा इकाइसँग समन्वय गरिरहेका छौ, छिट्टै निश्कर्ष निस्किन्छ ।’

विद्यालयसंग समन्वय नगरी नगर शिक्षाले शिक्षकलाई सरूवा गरेर पठाएको बताउदै ढकालले विद्यालय अपाङ्गमैत्री विद्यालय नबन्दा सम्म हाजिर गराउन नसक्ने बताउनुभयो ।

थापालाई नगर शिक्षा समितिको निर्णय अनुसार विद्यामन्दिर माध्यामिक विद्यालयमा सरूवा गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताउनुभयो ।

अन्य

भिडियो