INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार सङ्कलनका क्रममा गएका पत्रकार कुटिए

वीरेन्द्रनगर नपा–३ एरिचोक निवासी लाइकाखबर डटकमका सञ्चालक २९ वर्षीय बलबहादुर थापा समाचार सङ्कलनका लागि सोही नपा–१० स्थित बसपार्कमा गएको अवस्थामा फागुन १ गते बिहान बुलबुले यातायात प्रालिका संचालक र कर्मचारीको कुटपिटबाट घाइते भएका छन ।

समाचार सङ्कलनका लागि बिहान ८.३० बजे बसपार्कको गेटमा पुग्दा बुलबुले यातायात प्रालिका संचालक वीरेन्द्रनगर नपा ९ का जीवराज रावत र सोही प्रालिका कर्मचारी दैलेख नारायण नपा–७ का राजन शाहीको आक्रमणबाट घाइते भएको पत्रकार थापाले जानकारी दिनु भएको छ  ।

सुर्खेतको बसपार्क अगाडि बसको ठक्करबाट माघ २९ गते दिउँसो नदी रावतको मृत्यु भएपछि मृतकका आफन्तले आन्दोलन सुरु गरेका थिए । माघ २९ गते रातिदेखि भएको आन्दोलन फागुन १ गते बिहानबाट पुनः मृतकका आफन्त र बसपार्क समितिबीच विवाद भएको थियो ।

त्यहीँ क्रममा पत्रकार थापा समाचार सङ्कलनका लागि बसपार्क पुग्नु भएको थियो । आफन्तहरूले गरेको आन्दोलनको भिडियो खिच्दै गर्नुभएका पत्रकारलाई बसपार्क समितिका संचालक र कर्मचारीले भिडियो किन खिचेको भन्दै धम्काएर हातपात गरेका थिए ।

हातमा क्यामरा समातेको देखेर पत्रकार थापालाई समितिका व्यक्तिले कोकोकोलाको बोतलले टाउँकोमा हानेको अर्का पत्रकार युवराज पंगालीले बताउनु भएको छ । घाइते पत्रकार थापाको टाउकोमा चोट लागेको छ । माया नसिङ्ग होममा उपचार पश्चात घाइते पत्रकार डिस्जार्च हुनु भएको छ । घाइतेको टाउकोमा पाँच ओटा टाका लगाइएको छ ।

पत्रकार थापालाई हातपात गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी योगेन्द्र सिंह थापाले जानकारी दिनुभयो ।
घाइते पत्रकारले घटनामा संलग्न व्यक्तिलाई कारबाही मागगर्दै फागुन २ गते जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उजुरी दिने तयारी गरिरहेको जानकारी दिनु भयो ।

घटनाको विरोध गर्दै प्रेस चौतारी, सुर्खेतका अध्यक्ष गोविन्द खत्रीले फागुन १ गते प्रेस विज्ञप्ती प्रकाशन गर्नु भएको छ । प्रेस विज्ञप्तीमार्फत अध्यक्ष खत्रीले घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको माग गर्नु भएको छ ।

आन्दोलनमा एक जना प्रहरी घाइते

वीरेन्द्रनगरको आन्दोलनमा एक जना प्रहरी घाइते भएका छन् । आन्दोलनकारी र प्रहरीको दोहोरो झडप हुँदा २७ वर्षीय ढाकाराम पौडेल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्र सिंह थापाले जानकारी दिनुभएको छ ।

आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । वीरेन्द्रनगर नपाको मङ्गलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा प्रहरीले ३ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । बसको ठक्करबाट माघ २९ गते मृत्यु भएकी जाजरकोट छेडागाड नगरपालिकाकी नदी रावतका आफन्तले फागुन १ गते बिहानैदेखि आन्दोलन सुरु गरेका थिए । आन्दोलन हाल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका, डीएसपी लक्ष्मण शाहीले जानकारी दिनु भएको छ ।

Photo20230214Surkhet (1)

Photo20230214Surkhet (2)

अन्य

भिडियो