१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा तिरहुत गाउँपालिका–५ बुधेवा टोलका २० वर्षीय अफजल मियाँलाई माघ २९ गते साढे तीन वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले जबरजस्ती करणी उद्योग ठहर गर्दै आरोपितलाई कैद सजायका साथै ३५ हजार रुपियाँ क्षतिपूर्ति र फौजदारी कसूर पीडित राहत कोषमा ८ सय रुपियाँ जम्मा गर्नुपर्ने फैसला गरेको छ ।
आरोपितले ०७८ पुस ६ गते बलात्कार गरेको भन्दै पीडितकी काकीले सोही दिन इलाका प्रहरी कार्यालय, कञ्चनरूपमा उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण पुस ६ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो ।
कञ्चनरूप नगरपालिका–११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी बालिकालाई ललाई फकाई बलात्कार गरी फरार भएको उजुरी पछि ईलाका प्रहरी कार्यालय कञ्चनरूपले आरोपितलाई पुस ६ गते नै गिरफ्तार गरेको थियो । अदालतले भने जबरजस्ती करणी उद्योग ठहर गर्दै सजाय गरेको अदालतले जनाएको छ ।
यसअघि जिल्ला अदालतमा ०७८ पुस २९ गते अभियोग पत्र दायर भएकोमा अदालतको आदेशमा आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।