INSEC Online

📅 २०८३ जेष्ठ २१

प्राधिकरणको लापरवाहीका कारण हात गुमाएका बालकले अझै राहत पाएनन्

नेपाल विधुत प्राधिकरणले उचित व्यवस्थापन नगरेका कारण भुईँमा लत्रिएको विधुतीय तारबाट करेन्ट लागेर बायाँ हात गुमाएका ११ वर्षीय बालक बुद्धिबहादुर तामाङले दुर्घटनाको १० महिना बितिसक्दा पीडित परिवारले राहत रकम पाउन सकेका छैनन् ।
०७९ वैशाख ५ गते बेसीशहर नगरपालिका– ८ मर्स्याङ्दी नदी किनारमा रहेको ल्याण्ड फिल्ड साइडमा खेलौना देखेर लिन जाँदा भुईमा लत्रीएको तारबाट बालकलाई करेन्ट लागेको थियो । करेण्ट लागेकै कारण बालकको बायाँ हात जरै देखी काटीएको छ, भने बायाँ गोडाको पैतला देखि तिघ्रासम्म जलेको छ त्यस्तै दायाँ तिघ्रा  पनि पूर्णरूपमा जलेको छ ।

बालककी आमाका अनुसार घटना हुनु भन्दा तीन÷चार महिना अघिदेखि विजुलीको तार त्यसरी लत्रिएको थियो, हामीले यो ठाउँमा यस्तो भएको छ, बनाइदिन कति पटक भन्न गयौ तर बिजुली अफिसको मान्छेले हामीले भनेको कुराको वास्तै गरेनन् जसले गर्दा घटना हुन पुग्यो ।

पीडितका बाबा मिनराज तामाङले काठमाडौंकोे कीर्तिपुर अस्पतालमा लगेर उपचार गरेको बताउनु भयो । उहाँका अनुसार २२ दिनसम्म दिनमा एक पटक मात्र छोराको होस आउँथ्यो । त्यसपछि जम्मा ३३ दिन अस्पतालमा राखपछि खर्चको अभावले घर लिएर आएको उहाँले बताउनुभयो ।

छोराको उपचारका लागि प्राधिकरणले सहयोग गर्छौ भनेपनि आजसम्म केहि पनि सहयोग नगरेको मिनराजले बताउनुभयो । उपचारमा लागेको खर्च सापटी लिएको डेढ लाख रुपैयाँ अझै तिर्न सकेको छैन ।’ उहाँले थप भन्नुभयो, ‘‘मसँग त त्यो पैसा तिर्ने उपाय पनि छैन, दिनभर कमाएको पैसाले जहान केटाकेटी पाल्नै मुस्किल छ ।

नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखाका अध्यक्ष दीपक बरालले बालकको प्लाष्टिक सर्जरी गर्नु पर्ने स्थिति रहेको बताउनु भयो । उहाँका अनुसार यी मान्छेको बोलिदिने कोही नभएर धेरै पीडामा भएको बताउनुभयो ।

यसबारेमा लमजुङ विद्युत वितरण केन्द्रसँग सम्पर्क गर्दा राहत उपलब्ध गराउने काम क्षेत्रीय कार्यालयको भएको र आफु केन्द्रको भएको केन्द्र प्रमुख मेघनाथ भट्टराईले बताउनु भयो ।

यसै विषयमा प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले पीडितले लामो समयसम्म राहत नपाएकोमा दुःख व्यक्त गर्दै २ हप्ता अघि मात्रै जिल्लामा आएकाले यस विषयमा सम्वन्धित निकायसँग जानकारी लिएर राहत र क्षतीपूर्तीका लागि सक्दो पहल गर्ने बताउनु भयो ।

अन्य

भिडियो