चौदण्डीगढी नगरपालिका–२ का २७ वर्षीय, ४० वर्षीय र ६२ वर्षीया महिलालाई बेचविखन प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाँउकी ४० वर्षीया कुमारी परियार र सप्तरीको कञ्चनरुप नगरपालिका–८ का २७ वर्षीय मोहम्द नजिरलाई माघ २६ गते गिरफ्तार गरेको छ ।
पीडित तीन जनालाई आरोपिपद्धयले १० लाख रुपियाँ दिने प्रलोभनमा पारी माघ २५ गते चौदण्डीगढी नगरपालिका–२ बाट टेम्पो चढाइ सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित मोहम्द नजिरको ग्यारेजमा ल्याएको र त्यहाँबाट भारत जानु पर्छ भनेपछि आफूहरु ग्यारेजबाट भागेको पीडितले बताएका छन् ।
माघ २६ गते पीडितहरुले आफन्तलाई घटनाका बारेमा भनेपछि पीडित पक्षले आरोपितविरुद्ध माघ २६ गते इलाका प्रहरी कार्यालय वेल्टारमा उजुरी दिएको छ ।
पीडित पक्षको उजुरीका आधारमा आरोपित कुमारी परियारलाई घरबाट र नजिरलाई ग्यारेजबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेशकुमार पोदारले बताउनु भयो ।
घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।