बेलवारी नगरपालिका–७ काफ्ले टोलका ६२ वर्षीय ज्येष्ठ नागरिक जयबहादुर कार्कीको हत्या गरेको कसुरमा जिल्ला अदालतले ३१ वर्षीय छोरा बासुदेव कार्कीलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश रोमनाथ अधिकारीको माघ २६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो ।
पीडितलाई कसुरदारले अंशसम्बन्धी विवादमा ०७९ वैशाख १ गते ढुङ्गामा पछारेर हत्या गरेको आरोपमा प्रहरीले कार्कीलाई सोहीदिन घरैबाट गिरफ्तार गरेको थियो ।
पीडित पक्षले आरोपितविरुद्ध वैशाख १ गते इलाका प्रहरी कार्यालय बेलवारीका किटानी उजुरी दिएको थियो ।
प्रहरीले आरोपितविरुद्ध जिल्ला अदालतमा वैशाख २५ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश ईश्वर पराजुलीको वैशाख २७ गतेको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा थिए ।
शवको पोष्टमार्टम कोशी अस्पतालमा वैशाख १ गते गरिएको थियो ।
सोही दिन पीडित पक्षले शव बुझी बेलवारी नगरपालिका–७ मा सद्गत गरेको थियो ।