जलेश्वर नगरपालिका–५ का एक ज्येष्ठ नागरिक ७५ वर्षीय हरिदेव राउतलाई सोही ठाउँका ६८ वर्षीय सुरेन्द्र राउतले जलेश्वरको पर्सा पतैली चोकमा प्रहरी चौकीअगाडि कुटपिट गरी हत्या गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तोषकुमार पोखरेलका अनुसार बेलुका साढे ४ बजे गाउँभन्दा पाँच सय मिटर दक्षिणमा रहेको पर्साचौकमा धान, चामल लगायतको अन्नपात खरिदबिक्रीको काम गरिरहेका वृद्ध हरिदेवलाई लागु पदार्थ सेवन गरेका सुरेन्द्रले मुक्का र लात्तिले हिर्काउँदा मृत्यु भएको हो ।
प्रहरी चौकी पर्साका प्रमुख रामबाबु यादवकै अगाडि वृद्धलाई कुटपिट भएको तर प्रहरीले नबचाएको आरोप प्रत्यक्षदर्शीले लगाएका छन् । प्रहरीले घटनाको भिडियो खिचेपनि कुटपिट गर्नेलाई नरोकेको आरोप स्थानीयको छ ।
सबै घटनाक्रम प्रहरी चौकीअगाडि नै भएको पनि प्रहरीले स्थिति नियन्त्रणमा लिन पहल नगरेको भन्दै स्थानीयले चौकीअगाडि धर्ना दिंदै प्रदर्शन समेत गरेका थिए ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएको प्रहरी टोलीले घटनाको मुचुल्का उठाई शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ ।
कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सुरेन्द्र राउतलाई गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । उहाँको अनुसार प्रहरी चौकीअगाडि भएको घटनासम्बन्धी अनुसन्धान गर्न चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला तानिएको छ ।