चौतारा कारागारमा स्वास्थ्यकर्मी नहुँदा जेलमा रहेका बन्दी तथा थुनुवाहरूको स्वास्थ्यमा समस्या भएको कारागारका बन्दीहरूले गुनासो गरेका छन् ।
इन्सेक र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको संयुक्त टोलीले जेल अनुगमन गर्ने क्रममा ०७९ माघ २५ गते जिल्ला कारागार शाखामा रहेका बन्दीहरूले स्वास्थ्यकर्मीको अभावमा स्वास्थ्यमा समस्या भएको बताएका हुन् ।

केही बन्दीहरूको आँखा कमजोर हुँदै आएकोले आँखा जाँच गर्न नपाएको कारागारका नाइके भीम बस्नेतले बताए ।
चौतारा कारागारमा २४ जना दीर्घ रोगी रहेकोले नियमित औषधि सेवन गर्ने बन्दीहरू रहेका छन् ।
उनिहरूलाई नियमित औषधि दिने स्वास्थ्यकर्मी नभएको बस्नेतले गुनासो गरे । त्यसैगरी २१ जना कैदी बन्दीहरू सामान्य रोगी रहेको बस्नेतले बताए ।
कारागारमा एक जना अहेव पदका स्वास्थ्यकर्मीको दरबन्दी भए पनि स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मी नपठाएकोले समस्या भएको र स्वास्थ्यकर्मी पठाउन जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार भएको जिल्ला कारागार प्रमुख अनिल बुढाथोकीले बताउनुभयो । साथै जेलभित्र उत्पादन भएका मुढा, गलैँचाको बजार नपाएको जस्ता समस्या रहेको छ ।
इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धिताल र नेपाल रेडक्रस सोसाइटीका मन्त्री कमलचरण कक्षपतिले समग्र जेलको अनुगमन गर्नुका साथै कैदीबन्दीसँग अन्तरक्रिया समेत गर्नु भएको थियो ।
