स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तर्गत मानव अधिकार र निर्वाचन विषयमा जेठ २० गते डडेल्धुरामा सरोकारवालाहरूबिच अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा अभियानका सहअध्यक्ष एवम् इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले राजनीतिक दल प्रतिको सर्वसाधारणको टुटेको मनोविज्ञानलाई स्थानीय तहको निर्वाचनको माध्ययमबाट पुनः जोड्ने सुअवसर मिलेको बताउँदै निर्वाचनले अधिकार सँगसँगै दायित्व पनि थपिएको बताए ।
सो अभियानका सहअध्यक्ष एवम् मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्ने पर्यवेक्षकले कुनै किसिमको प्रभावमा नपरी पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राजनीतिक दलका नेताहरूले जिल्लामा आफूहरूले आचारसंहिताको पूर्ण पालना गर्दै स्वच्छ र मर्यादित रूपमा निर्वाचन सम्पन्न गर्नका लागि प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा सहभागी महिलाहरूले मतदाता शिक्षा महत्वपूर्ण रहेपनि प्रभावकारी हुन नसकेको भन्दै निर्वाचनलाई सफल बनाउन आआफ्नो ठाउँबाट सकरात्मक सहयोग गर्नुपर्ने विचार राखे ।
सहभागिहरूले स्थानीय तहको निर्वाचनले महिलालाई अवसर दिएपनि दिएको अधिकारलाई स्थापित गर्न चुनौति रहेको बताउँदै देशलाई मानव अधिकार सम्पन्न बनाउन यो निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।