INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका कसुरदारलाई २५ वर्ष कैदको फैसला

बञ्चरो प्रहार गरेर पत्नीको हत्या घटनाका कसुरदार पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला ४७ वर्षीय पति पैलु भनिने पदम कामीलाई जिल्ला अदालत, अछामले माघ १८ गते जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश पीताम्बर शर्माको एकल इजलाशले कसुरदार कामीलाई २५ वर्ष कैद र १ लाख रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको जिल्ला अदालतका नायब सुब्बा कमलप्रसाद ढुङ्गानाले बताउनु भयो ।

१ लाख रुपियाँ क्षतिपुर्ति मृतकका नजिकका हकदारले पाउने गरेर फैसला भएको समेत नायब सुब्बा ढुङ्गानाले बताउनु भयो ।

२०७९ साउन ११ गते राती ४५ वर्षीया पत्नी मान्म कामीलाई बञ्चारो प्रहार गरेर हत्या गरेका भन्दै पीडितका आफन्तले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएका थिए ।

शवको पोष्टमार्टम साउन १२ गते जिल्ला अस्पतालमा गरी आफन्तले शव बुझेर दाहसंस्कार गरेका थिए ।

हत्यापछि फरार रहेका अभियुक्तलाई कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारको बसपार्कबाट जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको सहयोगमा ०७९ साउन २४ गते गिरफ्तार गरेको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत भदौ १४ गते कर्तव्य ज्याद मुद्दा जिल्ला अदालत, अछाममा दर्ता गरेकोमा जिल्ला अदालतले आरोपितलाई भदौ १६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

अन्य

भिडियो