घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योती माविकी कक्षा १० की छात्रा लिलामाया आलेलाई सो विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले कुटपिट गरि घाईते बनाएको पीडीत बालिकाले बताउनुभयो । माघ ८ गते आईतबार दिउँसो एसइई परिक्षाको तयारीको क्रममा गणित विषयको सिकाई परिक्षामा कम अंक प्राप्त गरेको भन्दै प्रअ थापाले लौरोले पछाडीको भागमा हान्दा छात्रा आले घाईते हुनु भएको हो ।
परिक्षामा सहभागी ४२ जना विद्यार्थी मध्ये कम अंक ल्याउने ३५ जना विद्यार्थीलाई प्रअले लौरोले कुटपिट गरेको पीडित छात्राले बताउनु भयो । कुटपिटबाट छात्रा आलेको पिठ्यूमा निलो डाम बनेको छ । कुटपिटबाट घाईते भएकी आलेलाई अभिभावकद्धारा माघ ९ गते शुक्लागन्डकी नगरपालिका स्थित जिपि कोईराला राष्ट्रिय स्वाश्वप्रश्वास उपचार केन्द्रमा उपचारको लागि ल्याइएको थियो । पीडीतको अस्पतालमा स्वास्थ्य परिक्षण र उपचार गरिएको र पुनः परिक्षणको लागि चिकित्सकले एक हप्ता पछि बोलाएको बालिकाका ठुलो बुवा देबबहादुर आलेले बताउनु भयो ।
प्रअ थापाले आफुले अन्जानमा कुट्दा छात्रा घाईते भएको बताउनु भयो । एसइईको तयारीको लागि सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर सिकाई गराउँदा हातमा भएको लौरोले सामान्य कुटपिट गरेपनि छात्रा आलेलाई ठुलो चोट लागेकोमा आफुलाई दुःख लागेको भन्दै प्रअ थापाले उक्त घटनामा गल्ती स्विकार्दै पीडित विद्यार्थी र अभिभावसँग माफ मागेको बताउनु भयो । उहाँले पीडित छात्राको उपचारको सम्पुर्ण खर्च आफुले व्यहोर्ने बताउनु भयो ।