स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा बदर मत सङ्ख्या बढने स्थानीयबासीले गुनासो गरेका छन् । तालिम प्राप्त मतदाता शिक्षा स्वयम्सेवक नियुक्त भएपनि परिचालन हुन नसक्दा मतदाता शिक्षा कार्यक्रम अपेक्षित रूपमा प्रभावकारी बन्न नसकेको पत्रकार धु्रव मण्डलले बताए ।
जिल्लाभरी ४ सय ६१ मतदान केन्द्रका लागि ४ सय ६१ जना निर्वाचन शिक्षा कार्यकर्ता/मतदाता शिक्षा स्वयम्सेवक नियुक्त गरी तालिम दिएर गाउँगाउँ पठाइएको जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले बताए । गाउँपालिका र नगरपालिकाका कार्यकारी अधिकृतलाई मतदाता शिक्षा स्थानीय समन्वयकर्ता तोकी वडा स्तरमा समिति गठन गर्ने जिम्मा दिँदै हाते पुस्तिका, नयाँ मतपत्रको नमूना, सदर-बदर मतपत्र, निर्वाचन आचारसंहिताका साथ शिक्षा कार्यकर्ता/मतदाता शिक्षा स्वयम्सेवकलाई गाउँ-गाउँ पठाइएको उनले बताए ।
स्थानीय निर्वाचन बिथोल्ने चेतावनी दिँदै राजपाले गरेको विरोध कार्यक्रमले मतदातामा अन्यौलता थपिएको बताउँदै पत्रकार हेमशङ्कर सिंहले राजपासहितको सङ्घीय गठबन्धनका कार्यकर्ताहरूले विभिन्न स्थानमा अवरोध पुर्याएकाले निर्वाचन शिक्षासम्बन्धी प्रचार कार्यक्रम प्रभावित भएको बताए । संविधान संशोधन बिना कुनै पनि निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न नदिने राजपाको चेतावनीले कार्यक्रमलाई प्रभाव पारेको निर्वाचन शिक्षा कार्यकर्ता अमृतलाल चौधरीले बताए ।
जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको बताइए पनि सदरमुकामकै मतदाताहरूले सदर-बदर मतबारे जानकारी नपाएको राजविराज नपा-५ का विजय गुप्ताले गुनासो गरे । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभए बदर मत बढ्ने भएकाले मतदाता शिक्षामा रोक लगाउन नहुने जिल्ला निर्वाचन अधिकारी ठाकुरले बताए ।
मतपत्र लामो भएको र २० वर्षपछि स्थानीय तहको निर्वाचन भइरहेकोले जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसके दलित, अशिक्षित, ज्येष्ठ मतदाताहरू अलमलमा पर्ने र मत बदर हुने सङ्ख्या ब्ढने अधिकारी ठाकुरले चिन्ता व्यक्त गरे ।
जिल्लामा गत वैशाख १ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम वैशाख १२ गतेदेखि स्थगित गरेर पुनः जेठ ५ गतेदेखि सुचारु गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान स्थल २ सय ९२ र मतदान केन्द्र ४ सय ६१ रहेको सप्तरीमा १ लाख ६० हजार ६ सय ८६ जना महिला, १ लाख ७० हजार ७ सय ५५ जना पुरुष र २१ जना तेस्रो लिङ्गी गरी ३ लाख ३१ हजार ४ सय ६२ जना मतदाता रहेका छन् ।