मालिकार्जुन गाउँपालिका–२ का बस्तीहरुमा स्ट्रेचर नहुँदा विरामी र गर्भवतीलाई स्वास्थ्य संस्था लैजान स्थानीयले सास्ती खेप्नु परेको छ ।
विगतमा खरिद गरिएका स्ट्रेचर विग्रिएपछि अहिले गाउँमा समस्या भएको हो ।
मालिकार्जुन गाउँपालिका–२ न्वालपानीका १८ वर्षीया महिलालाई तीन दिन अघि सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्याउन स्ट्रेचर अभाव भयो । पहिलो सन्तान पाउन लागेका ती महिलालाई स्थानीयले डोरीको स्ट्रेचर बनाएर स्वास्थ्य चौकी पुर्याए ।

स्थानीय प्रकाशसिंह धामीले सुत्केरी व्यथा लागेपछि काठमा डोरीको स्ट्रेचर बनाएर स्वास्थ्य संस्थामा पुर्याउनु परेको भन्दै फोटो सामाजिक सञ्जालमा राख्नु भयो ।
उहाँले डोरीको स्ट्रेचर बनाएर गर्भवती महिला बोकेको फोटो सामाजिक सञ्जालमा राखेपछि सर्वत्र चर्चामा रहको छ ।
न्वालपानीबाट स्वास्थ्य चौकी ठिङ आउन दुई घण्टा समय लाग्छ । गाउँमा स्ट्रेचर नपाएपछि महिलालाई स्वास्थ्य संस्थासम्म पुर्याउन डोरीको स्ट्रेचर बनाउनु परेको हो । वडाभरि साविकका ६ ओटा वडा छन् । सबै बस्तीमा स्ट्रेचर अभाव हुँदा स्वास्थ्य संस्थासम्म ल्याउन समस्या भएको धामीले बताउनु भयो ।
स्वास्थ्य चौकी इन्चार्ज राजीब भट्टले स्वास्थ्य चौकीमा समेत स्ट्रेचर नभएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘पहिले स्वास्थ्य चौकीमा पनि स्ट्रेचर थियो । साविकका ६ ओटै वडाका बस्तीमा एक / एक ओटा स्ट्रेचर दिइएको थियो । तर, ती स्ट्रेचर विग्रिएको टुटफुट भएको सम्बन्धमा हामीलाई जानकारी छैन् ।’
मालिकार्जुन गाउँपालिका–२ का वडाध्यक्ष गणेशसिह धामीले विगतमा आफूले सबै बस्तीलाई पुग्ने गरी स्ट्रेचर खरिद गरेर दिएको तर स्ट्रेचर बिग्रिएको भन्ने बारेमा कसैले जानकारी नगराएको कारण स्थानीयलाई समस्या भएको बताउनु भयो ।
उहाँले स्वास्थ्य संस्था र गाँउबस्तीमा स्ट्रेचर नभएको जानकारी प्राप्त भएलगत्तै खरिद प्रक्रिया अघि बढाएको बताउनु भयो । न्वालपानीमा मात्रै ८० परिवारको बसोबास छ ।