सुक्खा मौसम सुरु भएसँगै रोल्पाको सुनछहरी गाउँपालिका–४ घोगामा खाने पानी नियमित नहुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ ।
करिव २५ घरधुरी रहेको घोगा गाउँमा तीन वटा पानिको धारा भएपनि नियमितरुपमा पानी आउदैन ।
बर्खाको समयमा अभाव नभए पनि हिउँदको समयमा पानीको मुहान सुकेर सानो हुने भएकाले धारोसम्म पानी आउन नसकेको स्थनीय रणबहादुर परियारले बताउनु भयो ।
धारमा पानी नआएपछि पानी लिनैको लागि घण्टौ हिडेर पधेरोमा जानु परेको स्थानीय रामसर घर्तीले बताउनु भयो ।
धारामा नियमित पानी नआउदा नुहाउन र धुन समेत सकस भएको स्थानीयको भनाई रहेको छ ।
यसैगरी, सुनछहरी गाउँपालिका–४ झिन्जा गाउँमा पनि खाने पानीको समस्या रहेको छ । करिव एक सय घरधुरी भएको उक्त गाउँमा बिहान ६ बजे देखि ८ बजेसम्म र साझ ५ बजे देखि ७ बजेसम्म मात्र धारोमा पानी आउने गरेको स्थानीय जित बहदुर बिकले बताउनु भयो ।
निश्चित समयमा मात्र पानी आउने हुँदा धारोमा पानी भर्नकै लागि लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यता रहेको बिकको भनाइ रहेको छ । पानी अभावकै कारण गाउँमा तरकारी, फलफुल लगायतका खेती गर्न नसक्ने अवस्था रहेको छ ।
दुई वटै गाउँहरूमा प्रदेश सरकारबाट खाने पानीको योजना परेको तर कामको प्रकिृया अगाडी बढ्न नसकेको सुनछहरी गाउँपालिका– ४ का वडा अध्यक्ष हर्कराम बुढाले बताउनु भयो ।