सङ्घीय सरकारले नागरिकको आधारभूत स्वास्थ्य अधिकार सम्बोधनका लागि ०७७ मङ्सिर १५ गते देशभर एकसाथ आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरेको दुई वर्ष पुरा भएको छ ।
प्रदेश १, मा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पतालको एकसाथ शिलान्यास गरिएको थियो । शिलान्यास गरेको दुई वर्ष बितेपनि अधिकांश अस्पतालको निर्माण निराशाजनक छ ।

नेपालको संविधान धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था छ ।
सोही धाराको उपधार १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीको पहिलो सङ्क्रमणमा नेपालमा पहिलो पटक ०७६ माघ ९ गते पुष्टि भएपछि कोभिड–१९ सङ्क्रमित अधिकांशले आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित हुनु पर्यो ।
कोभिड–१९ का कारण आधारभूत स्वास्थ्य अधिकारबाट नागरिक वञ्चित भएपछि नेपाल सरकारले ०७७ मङ्सिर १५ गते देशभर ३ सय ९६ ओटा आधारभूत स्वास्थ्य अस्पतालको एक साथ शिलान्यास गरेको थियो ।
प्रदेश १, मा प्रदेशस्तरीय सरूवा रोग अस्पताल र १४ जिल्लामा ८६ ओटा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो ।
प्रदेश १ मा ८६ ओटा १ देखि १५ बेडसम्मको आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो । आधारभूत स्वास्थ्य अधिकार सम्बोधन हुने गरी सङ्घीय सरकारले ८६ ओटा अस्पतालको शिलान्यास गरेपनि आधारभूत स्वास्थ्य अस्पताल निर्माणले भने गति लिन सकेको छैन । अधिकांश अस्पताल निर्माणको कार्य अलपत्र अवस्था छ ।
झापामा १२ ओटा, पाँचथर, इलाम, सङ्खुवासभा र ओखलढुङ्गामा सात ओटा, भोजपुर र खोटाङमा ६–६ ओटा, तेहृथुम, सोलखुम्बु र सुनसरीमा पाँच–पाँच ओटा, धनकुटामा चार ओटा र मोरङमा १० ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ ।
सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी प्रदेश १ मा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास गरिएको भएपनि अधिकांश अस्पताल निर्माण अलपत्र अवस्थामा छन् ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा शिलान्यास भएका आधाभूत अस्पतालको निर्माण कार्य सकिएको छैन ।
अस्पताल निर्माण कार्य सम्पन्न नहुदाँ अहिले पनि स्थानीय उपचारका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता उस्तै छ । नेपालको संविधान धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधार १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।
स्थानीय सरकारको ढिलासुस्तीका कारण आधारभूत अस्पताल निर्माण ढिलाई भएको सरोकारावाला निकायको गुनासो छ ।
सभापोखरी गाउँपालिकाले पाँच बेडको आधारभूत अस्पताल निर्माण पहिलो ढलान सम्पन्न गरिसकेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले बताउउनु भयो । आधारभूत अस्पालको पहिलो ढलान सम्पन्न भएसँगै गाउँपालिकाले आधारभूत अस्पतालका लागि एक जना अधिकृतस्तरको स्वास्थ्यकर्मी नियुक्त गरेको उपाध्यक्ष चापागाईंको भनाइ छ ।।
पाँचखपन नगरपालिकाले १० बेडको आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि जग्गा खरिद र ठेक्का गरी प्रक्रिया सकेर निर्माण कार्य चलिएको मेयर विपिन राईले बताउनु भयो । पाँचखपनले वानामा ११ लाख रुपियाँमा जग्गा खरिद गरेको छ । मेयर राईका अनुसार निर्माण कम्पनीको ढिलासुस्तीका कारण भवन निर्माण समयमा सम्पन्न हुन नसकेको बताउनु भयो ।
धर्मदेवी नगरपालिकामा पाँच बेडको अस्पताल निर्माणका लागि निशुल्क जग्गा प्राप्त गरी ठेक्का प्रक्रिया गरिएको मेयर उदयचन्द्र पौडेलले बताउनु भयो ।
चैनपुर नगरपालिकाले १५ बेडको आधारभूत अस्पताल निर्माणका लागि कार्य चलिरहेको मेयर कृष्ण तामाङले बताउनु भयो ।
मादी नगरपालिकामा १५ बेडको आधारभूत स्वास्थ्य अस्पताल निर्माणका जग्गा प्राप्त गरी सकिएकाले अब मात्र ठेक्का लाग्ने प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत प्रकाश मगरले बताउनु भयो । समयमा जग्गा प्राप्ति नहुदाँ आधारभूत स्वास्थ्य अस्पताल निर्माणमा ढिला भएको मगरले बताउनु् भयो ।
पाँच बेडको आधारभूत अस्पताल निर्माणका लागि चिचिला गाउँपालिकाले ढिला गरी जग्गा प्राप्त गरेका कारण समयमा काम अघि बढाउन नसकिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताउनु भयो । गाउँपालिकाले ठेक्का प्रक्रिया सकेर अहिले निर्माण कार्य भइरहेको अध्यक्ष शेर्पाले बताउनु भयो ।
भोटखोला गाउँपालिकाले पाँच बेडको आधारभूत अस्पताल निर्माणका लागि ठेक्का प्रक्रिया सकेर निर्माण कार्य थालनी गरेको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बाउनु भयो ।
जिल्लामा जिल्ला अस्पताल एक ओटा,प्राथमिक स्वास्थ्य केन्द्र चार ओटा, स्वास्थ्य केन्द्र ३४ ओटा,सामुदायिक स्वास्थ्य इकाई २८ ओटा, आधारभूत स्वास्थ्य केन्द्र २९ ओटा, शहरी स्वास्थ्य केन्द्र १२ ओटा छन् ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा आधारभूत अस्पताल निर्माण कार्य सुस्त गतिमा छ ।
जिल्लाका कतिपय स्थानीय तहले हालसम्म अस्पताल निर्माणको लागि जग्गा प्राप्ति नै गर्न सकेका छैनन् ।
मानेभञ्ज्याङ गाउँपालिकामा अस्पताल कहाँ निर्माण गर्ने भन्ने अन्यौल यो वर्षको अन्त्यसम्म कायम छ । अस्पताल निर्माणको लागि चाहिने जग्गा व्यवस्थापनमा समस्या हुँदा निर्माण कार्य अघि बढ्न नसकेको मानेभञ्ज्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताए ।
मोलुङ गाउँपालिकामा यो वर्षको अन्त्यसम्म अस्पताल निर्माण कार्य अघि बढ्न सकेको छैन । सुरूको भवनको डिजाइनमा समस्या भएपछि वर्षको अन्त्यसम्म अर्को डिजाइन स्वीकृत भएकोले अब निर्माण कार्य बढ्ने गाउँपालिका अध्यक्ष उत्तम राईले बताए ।
सुनकोशी गाउँपालिकामा जग्गा प्राप्त गरे पनि अस्पतालको डीपीआरबमोजिम जग्गा अपर्याप्त भएकाले अस्पताल निर्माण कार्य अघि बढ्न नसकेको गाउँपालिका अध्यक्ष कमल तामाङले बताए ।
चम्पादेवी गाउँपालिकामा अस्पातल निर्माणको काम भइरहेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत विशाल दाहालले बताए ।
लिखु गाउँपालिकामा अस्पताल निर्माण भइरहेको लिखु गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले बताए ।
चिशंखुगढी गाउँपालिकामा अस्पताल निर्माण भएर हस्तानान्तरण गरिएको सूचना अधिकृत अस्मित राजभण्डारीले बताए । भवन निर्माण सम्पन्न भएपनि वर्षको अन्त्यसम्म अस्पताल सञ्चालनमा आएको छैन ।
खिजिदेम्बा गाउँपालिकामा पनि अस्पताल निर्माण कार्य सम्पन्न भएको भएपनि वर्षको अन्त्यसम्म सञ्चालनमा नआएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजन मगरले बताए ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लाका दश ओटा स्थानीय तहमध्ये दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका बाहेक अन्य नौ ओटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भएपनि दुई ओटा स्थानीय तहमा अझै अस्पतालको शिलान्यास हुन बाँकी छ ।
हलेसी तुवाचुङ नगरपालिकामा सात रोपनी जग्गामा १५ शैयाको अस्पताल निर्माण कार्य जारी रहेको नगर उपप्रमुख रमेश राउतले बताउनु भयो । नगर स्वास्थ्य प्रमुख प्रकाश घिमिरेले शिलान्यास भएको दुई वर्ष बितिसक्दा जग मात्र खन्ने काम भइरहेको बताउनु भयो ।
रावावेशी गाउँपालिकामा अस्पताल निर्माणको लागि १८ महिना अघि ठेक्का सम्झौता गरिएको प्रमुख प्रशाासकीय अधिकृत दिनेशकुमार राईले वताउनु भयो । नगर स्वास्थ्य संयोजक कौशल अधिकारीले १० शैयाको अस्पताल निमार्णका लागि नौ रोपनी जग्गाको व्यवस्थापन पुरा भएको छ ।
ऐसेलुखर्क गाउँपालिकामा अस्पताल निर्माणको कार्य अलपत्र अवस्थामा छ । प्रमुख प्रशाासकीय अधिृकृत रेखबहादुर थापाले अस्पताल निर्माणले गति लिन नसकेको बताउनु भयो । १५ शैयाको आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि आठ रोपनी जग्गा मात्र टुङ्गो लगाउने काम भएको नगर स्वास्थ्य संयोजक सचिन श्रेष्ठले बताउनु भयो ।
केपिलासगढी गाउँपालिकामा अस्पताल निर्माणको लागि १२ रोपनी जग्गा व्यवस्थापन गरी डीपीआरको काम गरेपनि अरू काम बाँकी रहेको प्रमुख प्रशाासकीय अधिकृत गुञ्जन कार्कीले वताउनु भयो ।
साकेला गाउँपालिकाकामा आधारभूत अस्पताल निर्माणको काम ढलानको अवस्थामा पुगेको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनु भयो । नगर स्वास्थ्य संयोजक रीता ढकालले नौ रोपनी क्षेत्रफलमा अस्पताल निर्माण हुने बताउनु भयो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले १५ बेडको अस्पताल निर्माण कार्य जग्गा सम्याउने काम मात्र भएको प्रमुख प्रशाासकीय अधिकृत लोकेन्द्रबहादुर राईले बताउनु भयो ।
खोटेहाङ गाउँपालिकामा भवन निर्माणको काम सुरू भएको छैन । डीपीआरको मात्र काम सुरू गरिएकाले भवन निर्माण अलपत्र अवस्थामा रहेको नगर स्वास्थ्य संयोजक यदुकुमार बस्नेतले वताउनु भयो ।
बराहपोखरी गाउँपालिकामा अस्पताल निर्माण कार्य अलपत्र अवस्थामा रहेको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताउनु भयो ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा आधारभूत स्वास्थ्य अस्पतालको काम सुस्त गतिमा छ ।
जिल्लामा कतिपय स्थानीय तहमा गरिएका शिलान्यासमै सिमित भएका छन् । जिल्लाका नौ ओटा स्थानीय तहमध्ये सात ओटा स्थानीय तहमा पाँच देखि १५ बेडसम्मको आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास गरेर काम भई रहेका छन् ।
सङ्घीय सरकारले सहज रूपमा स्वास्थ्य सेवा दिने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरे पनि निर्माण कार्यमा ढिलाई हुँदा दुर्गम क्षेत्रका नागरिक सरकारले प्रदान गर्ने स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ ।
पौवादुङमा गाउँपालिका,अरूण गाउँपालिका,साल्पासिलिछो गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकामा पाँच देखि १५ बेडको अस्पताल शिलान्यास गरिएको छ ।
सात ओटा मध्ये ६ ओटा अस्पतालको निमार्ण कार्य भई रहेको छ । रामप्रसादराई गाउँपालिकाको भने जग्गा अभावका कारण सम्पूर्ण काम अलपत्र अस्थामा रहेको जानकारी दिएको छ । स्थानीय जग्गा दाताले जग्गा दिएको भए पनि अस्पतालको नाममा जग्गा ल्याउने काम भइरहेकाले अवको केही समयपछि निर्माण थालिने गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनु भयो ।
पौवादुङमा गाउँपालिकाको अस्पताल निमार्णको काम भने करिव ३५ प्रतिशत सम्पन्न भएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनु भयो । ०७७ फागुन महिनामा ४ करोड ८१ लाख १४ हजार रुपियाँमा टेण्डर लागेको अस्पताल पाँच बेडको निमार्ण हुने प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताउनु भयो । हाल अस्पतालको एक तला निमार्ण भई सकेको छ । यस वर्ष भने केन्द्र सरकारले बजेट नपठाउँदा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत भट्टरार्ईले बताउनु भयो । बजेट नआए पनि निर्माण कार्य भइरहेको उहाँको भनाई छ ।
साल्पासिलिछो गाउँपालिकामा ६ करोड ६५ लाख रुपियाँ लागतमा पाँच बेडको अस्पताल निर्माणको लागि ०७८ असार महिनामा टेण्डर प्रक्रियाबाट काम सुरू भएको गाउँपालिका अध्यक्ष दौतथकुलुङ राईले बताउनु भयो । हालसम्म फाउण्डेस तयार भएको छ । कामको थालनी गरेर ठेकेदार सम्पर्कविहीन भएकाले सम्पर्कका पत्र काटिएको प्रमुख प्रशासशिय अधिकृत माधवकुमार अधिकारीले बताउनु भयो ।
आमचोक गाउँपालिकामा १२ करोड ५० लाख रुपियाँ लागतमा १० बेडको अधारभूत स्वास्थ्य अस्पताल निमार्णको लागि ०७८ वैशाखमा टेण्डर भई निर्माण सुरू भएको छ । हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले बताउनु भयो ।
केन्द्र सरकारले पाँच बेडको अस्पताल निर्माणका लागि निर्देशन दिएको भए पनि गाउँपालिकाका स्वास्थ्यको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाको आर्थिक साझेदारीमा १० बेडको अस्पताल निर्माणको काम शुरू गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनु भयो । केन्द्र सरकारले समयमा बजेट नपठाउँदा भने निर्माण कार्यमा समस्या भएको अध्यक्ष राईले बताउनु भयो ।
हतुवागढी गाउँपालिकामा १६ करोड रुपियाँ लागतमा ०७८ असार महिनामा टेण्डर प्रक्रियामार्फत १५ बेडको अस्पताल निमार्णको गरिएको छ । सङ्घीय सरकारको एक स्थानीय तह, एक आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्यक्रममा रहेर अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनु भयो । अस्पताल निर्माणको काम समयमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइ रहेको अध्यक्ष राईको भनाइ छ ।
टेम्केमैयुङ गाउँपालिकामा पनि अस्पताल निमार्णका काम १५ प्रतिशत सम्पन्न भएको छ । निर्माण कम्पनीले पहिलो किस्ता बापतको रकम भुक्तानी लिइ सकेको छ । तोकिएको समयमा काम सम्पन्न गर्न ताकेता भइरहेको प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताउनु भयो ।
रामप्रसादराई गाउँपालिकाले भने जग्गा अभावका कारण अस्पताल निर्माणको कुनै काम सञ्चालन नगरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनु भयो । राईले भन्नुभयो ‘अस्पताल निर्माणको लागि नौ रोपनी जग्गा आवश्यक पर्ने रहेछ । हामीले भर्खर जग्गा टुङ्गो लगाएका छौँ । अब चाँडै अस्पतालको नाममा जग्गा पास गरेपछि अस्पताल निर्माणको काम सुरू हुन्छ ।’
षडानन्द नगरपालिकामा यसअघि नै १५ बेडको गान्दी मेमोरियल अस्पताल निर्माण भएकाले त्यसैबाट नागरिकलाई सेवा प्रदान गरिने भएकाले अस्पताल निर्माणको प्रक्रिया अघि नबढाएको मेयर सुरेन्द्र उदासले बताउनु भयो । भोजपुर नगरपालिकाकामा भने जिल्ला अस्पताल सञ्चालन भएकाले आधारभूत स्वास्थ्य अस्पतालको काम नगरिएको उपप्रमुख निर्मला शेर्पाले बताउनु भयो ।
जिल्लामा ६६ ओटा स्वास्थ्य चौकी, ११ ओटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, तीन ओटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन ओटा सहरी स्वास्थ केन्द्र, सात ओटा, सात ओटा सामुदायिक स्वास्थ्य एकाई र एक ओटा जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले बताउनु भयो ।
स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पताल निर्माण भइरहेको भएपनि सङ्घीय सरकारले हामीसँग कुनै समन्वय नगरी सिधै स्थानीय तहसँग काम गर्ने भएकाले आफूलाई त्यस विषयमा कुनै जानकारी नभएको प्रमुख तिवारीको भनाइ छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउन भन्दै ०७७ मङ्सिर १५ गते अस्पतालको शिलान्यास गरेको दुई वर्ष पूरा भएको छ ।
तर, सरकारले १ देखि १५ शैयासम्मको आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास गरेको दुई वर्ष पूरा भए पनि कामको प्रगति भने न्यून छ ।
सरकारले निर्माण गर्ने गरी जिल्लामा महालक्ष्मी र पाख्रिवास नगरपालिका तथा छथर जोरपाटी र सहिदभूमि गाउँपालिकामा शिलान्यास गरिएको थियो ।
स्थानीय तहले केही प्रतिशत, प्रदेश सरकारले केही प्रतिशत र बाँकी सङ्घीय सरकारले बजेट छुट्याउनुपर्ने भएकाले काम हुन केही ढिलाइ भएको स्थानीय तहरूले जनाएका छन् ।
हरेक स्थानीय तहले पाँच शैयाको कोभिड अस्पताल सञ्चालन गरिरहेको र त्यसैलाई स्तरोन्नती गरेर १५ शैयाको बनाइने स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख प्रमोदप्रसाद दाहालले बताउनु भयो ।
स्वास्थ्य सेवाको पहुँच नभएका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा अनुरुप शिलान्यास गरिए पनि शिलान्यास गरिएका जग्गा व्यवस्थापन मुख्य चुनौतीको रूपमा देखिएको छ ।
महालक्ष्मी नगरपालिका प्रमुख ध्रुबराज रायाले पहिलो चरणको काम भइरहेको बताउनु भयो । उहाँले पिल्लर बनाउने काम सकिएको जानकारी दिनुभयो । अस्पताल निर्माण निर्माण कहिले सम्पन्न हुने त्यो भन्न नसकिने रायाले बताउनु भयो ।
पाख्रिबास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङले अस्पताल निर्माणको चरणमा रहेको बताउनु भयो । उहाँले मन्त्रालयले बजेट निकासा समयमा नदिँदा निर्माण कार्यमा समस्या भएको बताउनु भयो ।
छथर जोरपाटी गाउँपालिकाले जग्गाको व्यवस्था गरेर करिब साढे ४ करोडमा निर्माण सुरू भवन अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनु भयो ।
सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले पुनर्निमाण प्राधिकरणबाट प्राथमिक स्वास्थ्य केन्द्र निर्माणको काम भइरहेको हुनाले आधारभुत अस्पताल निर्माण रद्द गरिएको बताउनु भयो ।
देशभर शिलान्यास हुँदा सहिदभूमिमा पनि भएको तर, दोहोरो भएको भन्दै स्वास्थ्य मन्त्रालयले रोकेको राईले बताउनु भयो ।
सङ्घीय सरकारले नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा दिने भन्दै आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरे पनि निर्माणमा ढिलाइ हुँदा नागरिक भने सरकारले प्रदान गर्ने स्वास्थ्य सेवाबाट वञ्चित नै छन् ।
शिलान्यास गरिएको भएपनि अस्पताल निर्माणमा ढिलाई हुँदा सेवा पाउन सदरमुकाम र तराईका जिल्ला जानुपरेको छथर जोरपाटी गाउँपालिका–६ सिधुवाका रामबहादुर थापाले बताउनु भयो । उहाँले यसलाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्ने बताउनु भयो ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार सङ्घीय सरकारले ०७७ मङ्सिर १५ गते एकैसाथ शिलान्यास गरेको अस्पताल निमार्णको कार्य जिल्लामा सुस्त देखिएको छ ।
जिल्लामा पहिलो र दोस्रो चरण गरी ६ ओटा स्थानीय तहमा अस्पताल निमार्ण सुरूआत गरिएको थियो ।
बेलका नगरपालिका–६ को जङ्गल क्षेत्रमा १० शैयाको अस्पताल भवन निमार्ण कार्य अझै सुरु हुन सकेको छैन । सामुदायिक वनले दिएको मुद्दामा अदालतबाट तत्काल भवन निमार्ण सुरु नगर्न अन्तरिम आदेश आएकाले निमार्ण कार्य सुरु हुन नसकेको नगरपालिकाका मेयर अशोक कार्कीले बताउनु भयो ।
चौदण्डीगढी नगरपालिका–७ मा निर्माणधीन १५ शैयाको अस्पतालको निमार्ण कार्य २० प्रतिशत मात्रै सकिएको छ । आठ कठ्ठा ऐलानी जग्गामा निमार्ण भइरहेको तीन तले भवनको वेशमेन्टको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाँईले बताउनु भयो । ०८० असार मसान्तसम्म निमार्ण सम्पन्न गरी सक्ने गरि १३ करोड रुपियाँमा भवनको ठेक्का लागेको छ । बजेट अभाव र स्थानीय तहको निर्वाचनका कारण रोकिएको काम पुस ४ गतेबाट पुनः सुचारु भएको मेयर कालुमान लामाले बताउनु भयो ।
लिम्चुङबुङ गाउँपालिका–३ बाराहामा निमार्णाधीन पाँच शैयाको अस्पताल भवन निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय लालबहादरु कार्कीले १९ रोपनी जग्गा निशुल्क उपलब्ध गराएपछि अस्पतालको नाम नै एलबीकार्की स्मृति बाराहा अस्पताल राखिएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङले बताउनु भयो । भवन निमार्णको काम ७५ प्रतिशत सकिएको र सङ्घीय सरकारले दरबन्दी अनुसार स्वास्थ्यकर्मी पठाएपछि अस्पताल सञ्चालनमा आउने गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताउनु भयो ।
ताप्ली गाउँपालिका–५ कटहरेमा पाँच शैयाको अस्पताल भवन निमार्णको कामले गति लिन सकेको छैन । स्थानीयले चन्दा सङ्कलन गरी चक्रबहादुर हमालको १० रोपनी जग्गा खरीद गरी ताप्ली गाउँपालिकाकालाई हस्तारन्तरण गरेका छन् । रौताहा कन्ट्रक्सनले ६ करोड रुपियाँमा ठेक्का लिएको भवनको तलाको पर्खाल लगाउने काम भईरहेको गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माले बताउनु भयो । उदयपुरगढी र रौतामाई गाउँपालिकामा १५ शैयाको अस्पताल निमार्णको कार्य भर्खर सुरू गरिएको छ ।