उत्तरी सिमा क्षेत्रसंग जोडिएका उपल्लो डोल्पामा पर्ने तीन ओटा गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा पुसको पहिलो सातादेखि औषधि अभाव छ ।
शे फोक्सुण्डो गाउँपालिका अन्तरगतका स्वास्थ्य चौकीहरुमा औषधिको अभाव भएको हो । शे फोक्सुण्डो गाउँपालिका वडा नम्बर १ र ८ मा पर्ने साल्दाङ्गस्थित निजालमा रहेको स्वास्थ्य चौकी र फोक्सुण्डो स्वास्थ्य चौकीमा औषधिको अभाव भएको हो ।
फोक्सुण्डो स्वास्थ्य चौकीका इन्चार्ज नवराज महताराले औषधि सकिएको जानकारी आफुले गाउँपालिका अध्यक्ष धाव सेम्दुक लामालाई जानकारी गराई सकिएको भएपनि अहिले सम्म नपुगेको बताउनु भयो ।
जिल्ला अस्पताल दुनैका प्रमुख डा.अखण्ड उपाध्यायले आफुसंग मौज्दात रहेको औषधी मध्येबाट थोरै औषधि खवर आउन वित्तिकै पठाईएको जानकारी दिनु भयो ।
स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा औषधी खरिद देखि कर्मचारी ब्यवस्थापन सम्मको काम स्थानीय तहले नै गर्ने र वजेट पनि तेतै जाने भएकाले हामिले त आकस्मिक रुपमा मात्र औषधि उपलब्ध गराउने गरेकाले अहिले के कस्तो अवस्था छ आफुलाई जानकारी नभएको र औषधि को माग पनि नआएको डाक्टर उपाध्यायले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष धावा सेम्दुक लामाले औषधि अभाव भएको खवर प्राप्त भएको तर खरिद गरेर पठाईएको सकिएको जानकारी दिनु भयो । औषधि पठाई सकिएको र जाडोका कारण जनप्रतिनिधि देखि कर्मचारी समेत काठमाण्डौँ मै भएकाले पनि सम्बन्धित ठाउँमा पुग्न समस्या भएको उहाँको भनाई छ ।
शे फोक्सुण्डो गाउँपालिका अन्तरगतका दुई स्वास्थ्य चौकीहरुमा पारासिटामोल,जीवनजल सम्म नभएको शे फोक्सुण्डो ८ रिग्मो गाउँका पेम्बा छेवाङ्ग गुरुङ्गले बताउनु भयो ।यसै गरि डोल्पोबुद्ध गाउँपालिकाको तक्सी उपत्याकामा रहेको धो स्वास्थ्य चौकीमा पनि सरकारले निशुल्क उपलब्ध गराउने औषधिको अभाव छ ।
यसै गरी त्रिपुरासुन्दरी नगरपालिका अन्तरगतका पाँच ओटा स्वास्थ्य चौकीहरुमा पनि अत्यावश्यक औषधिको अभाव छ । त्रिपुराकोट स्वास्थ्य चौकीका इन्चार्ज रमेश केसीका अनुसार सरकारले निशुल्क रुपमा उपलब्ध गराउदै आएको टेट्रा साइक्लिन जेभी पाउडर एम सि पाउडर , स्प्रीट ,टिन्चर ,भिटाविन वि कम्लेक्स ,ल्वाङको तेल आइक्रोफिन क्यालामाइन लोसन ,म्याग्नेसोयम सल्फेट अक्सिटोसीन वेन्जाइल वेन्जोइन पारासिटामोल जिन्क र ओरामाइन भ्यालेट लगायतका तिस प्रकारका औषधिहरुको अभाव छ ।
लिग्नोकेन,आइब्रप्रोफिन,क्लोरफेनिरामाइन,फेरामाइन,मेट्रोनिडाजोल,एमोक्सिलिन,सल्फामिथोजोल,डोक्सिसाइक्लिन,नियोमायसिन स्किन, फेरस सल्फेट,एड्रिनलिन र जेन्सन भ्यालेट नामका निशुल्क पाइनु पर्ने औषधि नहुँदा सर्वसाधारण मेडिकलबाट महँगो मुल्यमा किन्न बाध्य भएका हुन ।
यसै गरी उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्द,छार्काताङसोङ र शे फोक्सुण्डो गाउँपालिकामा पर्ने फोक्सुण्डो स्वास्थ्य चौकी,धो स्वास्थ्य चौकी र छार्का स्वास्थ्य चौकीहरुमा पनि औषधि अभावका साथै जाडो बढेसंगै चिकित्सकहरु समेत सदरमुकाम तर्फ फर्केकाले स्वास्थ्य चौकीहरु औषधिसंगै स्वास्थ्यकर्मी नहुँदा खाली भएको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय ग्याल्पो भोटेले बताउनु भयो ।